स्याफ्रुबेँसी-टिमुरे सडकमा हल्का सवारीसाधन सञ्चालन

हिमाल प्रेस १३ भदौ २०८२ १९:२७ | Friday, August 29, 2025
स्याफ्रुबेँसी-टिमुरे सडकमा हल्का सवारीसाधन सञ्चालन

रसुवा- गत असार २४ र गत साउन १४ गते ल्हेन्देखोलामा आएको बाढीले क्षति पुगेको स्याफ्रुबेँसी-रसुवागढी खण्ड आज (शुक्रबार) देखि सञ्चालनमा आएको छ। अन्तर्राष्ट्रिय राजमार्गका रूपमा रहेको उक्त खण्डको स्याफ्रुबेँसीबाट टिमुरेसम्म सडक स्तरोन्नति गरी आज (शुक्रबार) देखि हल्का सवारीसाधन सञ्चालनमा ल्याइएको हो।

गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाका आयोजना प्रमुख खड्गलाल श्रेष्ठले स्याफ्रुबेँसीबाट टिमुरेसम्म १४ किलोमिटर राजमार्गमा ट्रयाक खोल्ने काम सम्पन्न भई साना तथा हल्का सवारीसाधन सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार टिमुरेबाट रसुवागढीसम्मको दुई किमी सडक खुलाउने प्रयास भइरहेको छ।

वर्षा नसकिनुका साथै दैनिक रूपमा नदीले कटान गरिरहेकाले ठूला सवारीसाधन नियमित सञ्चालनमा अझै केही समय लाग्ने बताउँदै उनले सडक विभागको स्काभेटरमा जडान गरिएको ब्रेकरको सहायताले पहरा फुटाउने काम भइरहेको जानकारी दिए।

टिमुरे र घट्टेखोला बीचको स्याउ पार्किङस्थल छेउ भिरको फेदमा सडकको जग कटान भएकाले त्यस स्थानमा माथिबाट ठूलाठूला पहरा काट्नुपरेको जनाउँदै प्रमुख श्रेष्ठले सो काम सम्पन्न गर्न कम्तीमा एक साता लाग्ने प्राविधिक अनुमान गरिएको बताए। चीन सरकारले मितेरी पुल तयार गर्नुपुर्व स्याफ्रुबेँसी–रसुवागढीको सडक तयार गर्ने योजनासहित काम गरिरहेको प्राविधिकहरूले बताएका छन्।

मितेरी पुल पुनर्निर्माणका लागि चीन सरकारले ल्हेन्देखोलामा द्रुतगतिमा पूर्वाधार निर्माण अगाडि बढाइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए।

आफ्नो भूभागमा नयाँ बन्ने बेलिब्रिजको पिलर निर्माण गरी नेपालतर्फको भागमा पुलको पूर्वाधार बनाउन चिनियाँ प्राविधिकको सहजताका लागि ल्हेन्देखोलामा राखिएको ह्युमपाइप बिहीबार रातिको वर्षाले बगाएको उनले उल्लेख गरे।

खोलाको पानीलाई ह्युमपाइपबाट एकत्रित गरी निर्माण अगाडि बढिरहेको सीमा सुरक्षा निकायले जानकारी पठाएकाले दसैँ अघि रसुवा–केरुङ सिधा यातायात सम्पर्क हुने विश्वास रहेको प्रजिअ पन्थीले बताए। रासस

प्रकाशित: १३ भदौ २०८२ १९:२७ | Friday, August 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast