कम्युनिस्ट पार्टीहरूको पुनर्गठन आवश्यक : जनार्दन

हिमाल प्रेस १२ भदौ २०८२ १६:३३
4
SHARES
कम्युनिस्ट पार्टीहरूको पुनर्गठन आवश्यक : जनार्दन

बुटवल- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिस्ट पार्टीहरूको पुनर्गठन आवश्यक रहेको बताएका छन्। उनले अहिलेका कम्युनिस्ट पार्टीहरूले जनताका मुद्दा नउठाएकाले वाम पार्टीहरूबीच पुनर्गठन हुनुपर्ने आवश्यकता औँल्याएका हुन्।

सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा गरेको अन्तरक्रियामा उपमहासचिव शर्माले अहिले कम्युनिस्ट पार्टीहरू जनताका लागि नभई आफ्नो स्वार्थका लागि बनेको बताए। ‘दलहरू जनताका मुद्दामा स्पष्ट भएनन्, नीतिहरू प्रस्ट भएनन्, बरु अस्पष्ट, अलमल भए’, उनले भने, ‘दलहरूमा लोकतन्त्र पनि छैन, गरिबी बेरोजगारी अन्त्य गर्ने बहस पनि छैन।’

शर्माले पार्टी नेतृत्वले पार्टीमा आफ्नो जयजयकार गर्ने जमात मात्र तयार गरेको तर लोकतन्त्रको अभ्यासमार्फत विज्ञहरूको टिम बनाउन नसकेको बताए। दलहरूमा सुशासन र पारदर्शिता पनि नभएको, चुनौती सामना गर्ने क्षमता पनि नभएको शर्माले बताए।

कम्युनिस्ट पार्टीको पुनर्गठनसँगै आर्थिक प्रणाली पनि पुनःसंरचना गर्न अपरिहार्य भएको उपमहासचिव शर्माको भनाइ छ।

‘लोकतन्त्र जनताको भएन, दलाल पुँजीवादको र भ्रष्टहरूको भयो’, शर्माले भने, ‘४७ लाखदेखि ५० लाख युवा देशमा रोजगारी नपाएर खाडी राष्ट्रमा छन्, खेत बाँझो छन्, वनजंगल,प्राकृतिक स्रोतसाधनको सदुपयोग भएको छैन। यी साधनमाथि दलाल पुँजीवादीको कब्जा छ।’

मुलुकका आर्थिक नीति पञ्चायतकालीन शैली नक्कल गरेर दलाल पुँजीवादले कब्जा गरेको शर्माको आरोप छ। नेता शर्माले माओवादी केन्द्र र एमालेबीच एकता भएर नेकपा भएपछि उत्साह जागे पनि विघटनपछि निराशाको शृंखला सुरु भएको टिप्पणी गरे।

कम्युनिस्ट नेताहरूले लोकतन्त्र र समाजवादको भाषण गरे पनि व्यवहार ठिक उल्टो भएको बताए। ‘किसानले मल, बिउ, सिँचाइ, उचित मूल्य र बजार पाएका छैनन्, शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायित्वमा छैन’, शर्माले भने, ‘दलाल पुँजीवादले सबैतिर कब्जा गरेको छ,मुलुक भ्रष्टाचारमुक्त छैन,संविधान पनि पूर्ण कार्यान्वयन भएन।’

प्रकाशित: १२ भदौ २०८२ १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast