शैक्षिक सामग्री पाएपछि विद्यालय फर्किन थाले दलित समुदायका बालबालिका

हिमाल प्रेस १२ भदौ २०८२ १०:५१ | Thursday, August 28, 2025
शैक्षिक सामग्री पाएपछि विद्यालय फर्किन थाले दलित समुदायका बालबालिका

सिरहा- विद्यालय छाडेका लहान नगरपालिका– १८ का दलित तथा मुसहर समुदायका बालबालिका शैक्षिक सामग्री पाएपछि पुनः विद्यालय फर्केका छन्।

शैक्षिक सामग्री वितरण र निःशुल्क ‘ट्युसन’ कक्षा सञ्चालन गरेपछि कक्षा १ देखि ८ सम्मका विद्यालय छाडेका ६० जना बालबालिका विद्यालय फर्किएका हुन्।

यसैअन्तर्गत बुधबार विसनपुर र शोभापुरका ४९ जना विपन्न बालबालिकालाई विद्यालयप्रति आकर्षित गराउन झोला, कापी, छाता, पानी बोतल, जुत्ता, पोसाक, कलम, पेन्सिल, इरेजरलगायत सामग्री वितरण गरिएको छ। नगरप्रमुख महेशप्रसाद चौधरीले उक्त सामग्री वितरण गरेका हुन्।

नगरप्रमुख चौधरीले भने,‘हामी विद्यालय सुधारमा लागिपरेका छौँ। दलित तथा विपन्न समुदायका बालबालिकाले विद्यालय नछाडुन् भन्ने हेतुले शैक्षिक सामग्री वितरणलाई निरन्तरता दिइरहेका छौँ।’

उक्त कार्यक्रम रोटरी क्लब काठमाडौंँको आर्थिक सहयोगमा र दलित जनकल्याण युवा क्लबको आयोजनामा गरिएको हो। क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्खेले विसनपुर र शोभापुरसहित लहान–१३ स्थित घलेटोलका विद्यालय छाडेका बालबालिकालाई पुनः विद्यालयमा भर्ना गराइएको जानकारी दिए।

उनले भने,‘यो कार्यक्रम लहान नगरपालिकासँगको समन्वयमा अघि बढाइएको हो। हामीले विद्यालयबाट विमुख बालबालिकालाई पुनःशिक्षामा फर्काउन ट्युसन कक्षा, शैक्षिक सामग्री वितरण र अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छौँ।’

प्रकाशित: १२ भदौ २०८२ १०:५१ | Thursday, August 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast