रुपन्देही ३ मा उपनिर्वाचन

रास्वपाका आकांक्षी मधु अर्याल भन्छन् : मैले टिकट पाउँदा मतदातामाथि न्याय हुन्छ

हिमाल प्रेस ९ भदौ २०८२ १३:०८
18
SHARES
रास्वपाका आकांक्षी मधु अर्याल भन्छन् : मैले टिकट पाउँदा मतदातामाथि न्याय हुन्छ मधु अर्याल

बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर ३ को उपचुनावमा उम्मेदवारका आकांक्षी मधु अर्यालले आफू चुनाव हुन लागेको क्षेत्रले खोजेको उम्मेदवार भएको दाबी गरेका छन्। पार्टीको क्षेत्रीय सभापतिसमेत रहेका अर्याल पार्टी स्थापनाकालदेखि निरन्तर रूपन्देही ३ मा संगठन निर्माणमा खटिएको, क्षेत्रका समस्या र सम्भावना राम्ररी पहिचान गरेकाले आफूले टिकट पाए क्षेत्रको मुद्दालाई स्थापित गर्ने बताएका हुन्।

पार्टीले गरेको ब्लुप्रिन्ट संवादमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाई भैरहवामा पर्यटन क्षेत्रमा गरिएको लगानीलाई सुरक्षित गर्न, विमानस्थल जोड्ने सडक कनेक्टिभिटी र लुम्बिनीको पर्यटन विकास, खेल पर्यटनसहित रूपन्देहीको एकीकृत विकास गर्ने मुख्य एजेन्डा प्रस्तुत गरेको अर्यालले बताए। कृषिलाई व्यवसायीकरण, माछा सुपर जोन, प्रांगारिक खेतीलाई जोड दिने आफ्नो एजेन्डा रहेको उनले सुनाए।

उनले मतदाताको घरदैलोमा पुग्दा अधिकांशले रास्वपाबाट परिवर्तनको आशा गरेकाले चुनावी वातावरण रास्वपामय रहेको दाबी गरे। अर्यालले भ्रष्टाचार अन्त्य गरी सुशासन, जनताको पक्षमा कानुन र नीति निर्माणसँगै संसद्मा सशक्त प्रतिपक्षी सांसदको भूमिका खेल्दै २०८४ मा रास्वपाको बहुमतको ढोका खोल्न रूपन्देही ३ मा जित निकाल्न आफू सबैभन्दा उपयुक्त उम्मेदवार हुने बताए।

रास्वपालाई रूपन्देही–३ मा संगठन विस्तारमा नेतृत्वदायी भूमिका खेलेका उनले सुरुमा ५ सय पार्टी सदस्य रहेकामा आफू क्षेत्रीय सभापति भएपछि करिब २८ सय जना पार्टी सदस्य पुगेको बताए।

निर्वाचन आयोगले रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनको मिति सार्वजनिक गर्दा रूपन्देही ३ का ३६ वडामध्ये २ वडा वडा समिति रहेकामा त्यसयता आफ्नो सक्रियतामा ३४ वडामा संगठन विस्तार भएको अर्यालले बताए। ‘क्षेत्रका आफ्ना पार्टीका नेता कार्यकर्ताको चाहना र सुझावअनुसार नै उम्मेदवार बन्न लागेको हुँ। पार्टीले अपनाएको उम्मेदवार छनोट विधिअनुसार पनि प्राइमरी इलेक्सन र अन्य मापदण्डमा अब्बल दाबी गरेको छु’, अर्यालले भने, ‘म निर्वाचन क्षेत्रका मुद्दालाई स्थापित गर्ने गरी उम्मेदवार बन्न खोजेको हुँ।’

राष्ट्रिय गौरवको आयोजनामा पर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्रतनिधिसभा सदस्यका रूपमा आफूले अभिभावकत्व लिने गरी नीतिगत पहल गर्ने उनको अठोट छ। त्यसो त अर्यालले पार्टीसमक्ष विस्तृत योजना नै पेस गरेका छन्।

उनले आफू सांसदका रूपमा नीतिगत र कानुनी रूपमा गर्न सक्ने भूमिकालाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्। विमानस्थलसँगै बुद्धजन्मस्थल लुम्बिनीलाई जोडेर आध्यात्मिक पर्यटन र त्यसका लागि बुद्ध सर्किटका लागि पहल गर्ने उनको योजना छ। तिनाउ दानव नदीलाई प्रकृति र मानव जीवनसँग जोडेर विकास गर्ने, सहरमुखी क्षेत्र र ग्रामीण इलाकामा कृषिलाई प्राथमिकता राखेर काम गर्ने उनको प्रतिबद्धता छ। प्रविधिमा आधारित रहेर कृषिको आधुनिकीकरण गरी उत्पादन बढाउने र यसको बजारीकरणमा विशेष भूमिका खेल्ने उनले बताए।

‘कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष रूपमा नीतिगत काम गर्न खटिन्छु’, उनले भने। अर्यालले रास्वपाको संगठन विस्तारमा क्षेत्र, जिल्लामात्रै होइन्, देशका विभिन्न अभियानमा सामेल भएको बताएका छन्। पार्टी सभापति रवि लामिछानेसँगै उनी विभिन्न अभियानमा सामेल भएका छन्।

नारायणगढ–बुटवल सडक विस्तारका लागि दबाब दिन आयोजित पैदल यात्रामा उनी रवि लामिछानेसँगै हिँडेका थिए। जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका बेला राहात र उद्धारका बेला पनि अर्याल पार्टी सभापतिसँगै खटिएका थिए। यस्तै पाल्पा, अर्घाखाँची, कपिलवस्तुमा रास्वपाका विभिन्न कार्यक्रममा पार्टी सभापतिको सम्बोधनमा सँगसँगै हिँडेको उनी बताउँछन्। स्वदेशमा मात्रै होइन अर्याल बेल्जियमको एन्ट्रोपसिटीमा प्रमुख अतिथिका रूपमा सहभागी भएर संगठन विस्तार गरेका थिए। त्यसैगरी उनी पोल्यान्डको राजधानी वार्सा, बेल्जियमको ब्रसेल्स सहरमा पनि पार्टी गतिविधि विस्तारमा लागेका थिए।

बुटवल-१७ का अर्याल अभियन्ता, लेखक र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता हुन्। सामाजिक रूपान्तरणका लागि नयाँ काम गर्ने अठोटसहित राजनीतिमा लागेका उनी बालबालिकाका क्षेत्रमा १५ वर्षदेखि कार्यरत छन्। बालबालिकमा देखिने संवेदनशील विश्वव्यापी समस्या ‘अटिजम’ मा विद्यावारिधि शोधकर्ता उनले अन्तर्राष्ट्रिय अनुसन्धान फेलोका रूपमा काम गरेका छन्।

काठमाडौँका विभिन्न कलेजमा प्राध्यापनसमेत गरेका उनले केही विद्यालय तहको पुस्तक लेखेका छन्। रास्वपाबाट उम्मेदवारका लागि अर्यायसहित ९ जना आकांक्षी छन्। उम्मेदवार बन्न आवेदन दिनेमा अर्यालसँगै सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर (जेबी) गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री र पुनमकुमारी अग्रवाल छन्।

प्रकाशित: ९ भदौ २०८२ १३:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast