
काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति टुंगो नलगाउँदा पद नै रिक्त छ। ‘कुलिङ अफ पिरियड’ प्रकरणमा सभापति खतिवडाले पदबाट राजीनामा दिएपछि समितिको सभापति पद अहिले खाली छ। सत्तारुढ गठबन्धनमा कांग्रेसले नै सभापति लिने सहमति छ। तर कांग्रेसभित्र धेरै दाबेदार हुँदा नाम दिन सकेको छैन।
सभापति निर्वाचनको सूचना प्रकाशन गर्न सभामुख देवराज घिमिरेले आइतबार दिनभर प्रयास गरेका थिए। सभापतिमा सहमति जुटाउन सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेसँग आइतबार दुई पटक छलफल गरेका थिए।
तर, आफ्नो पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले सूचना प्रकाशित नगर्न उनले सभामुखलाई आग्रह गरेका थिए। आज बिहान बस्ने कांग्रेस पदाधिकारी बैठकले यो विषय टुंगो लगाउने घिमिरेले बताएका छन्। आज बिहान सूचना जारी गर्नैपर्ने नियमावलीको बाध्यात्मक परिस्थितिलाई बुझिदिन सभामुखले काग्रेस नेताहरलाई आग्रह गरेका छन्।
विगतमा पनि तोकिएको समयमा सभापति चयन हुन नसक्दा राज्य व्यवस्था समितिको बैठक नै बस्न नसकेको गलत नजिर दोहोर्याउन नहुनेमा सभामुखले जोड दिँदै आएका उनको सचिवालयले जनाएको छ। कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। कांग्रेस स्रोतका अनुसार राज्य व्यवस्था समिति सभापतिको उम्मेदवार टुंगो लगाउन बैठक बस्न लागेको हो।