पार्टीमा गुटबन्दी र स्वार्थ समूहलाई अब छुट छैन : प्रचण्ड

हिमाल प्रेस ५ भदौ २०८२ १६:५९
14
SHARES
पार्टीमा गुटबन्दी र स्वार्थ समूहलाई अब छुट छैन : प्रचण्ड नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

कास्की– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी राज्य व्यवस्थामा मात्र मजदुर वर्गको वास्तविक समस्या समाधान हुने बताएका छन्।

अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समितिले बिहीबार पोखरामा आयोजना गरेको ‘वैचारिक तथा राजनीतिक प्रशिक्षण’ कार्यक्रममा उनले सहमति र सम्झौताबाट अहिलेको व्यवस्था आएकाले मजदुरहरूले आफ्ना सबै अधिकार प्राप्त गरिनसकेका बताए।

‘मजदुर तथा सम्पूर्ण उत्पीडित वर्गका साथै समुदायको वास्तविक समस्या समाधान समाजवादमा मात्र सम्भव छ। समाजवादी क्रान्तिका लागि अबको तयारी गर्नुपर्दछ,’ प्रचण्डले भने।

समाजवादीबीचमा एकता गरी आगामी निर्वाचनमा एकजुट भएर समाजवादी क्रान्तिको रणनीतिलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘सम्भव भएसम्म समाजवादीहरूको एकता होस् भन्ने चाहना छ। समाजवादी जतिको एउटै केन्द्र बनाएर विशाल शक्ति बनाउँदै आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने आवश्यकता छ। समाजवादी क्रान्तिको रणनीतिलाई नेपाली मौलिकता र नेपाली नेतृत्वमा नयाँ ढंगले अघि बढाउने उद्देश्य छ।’

प्रचण्डले हिजोका उपलब्धिलाई उल्टाउने प्रयास हुनसक्ने भन्दै त्यसका विरुद्ध लड्नका लागि नेताकार्यकर्ता उच्च मनोबल, वैचारिक स्पष्टताका साथ एकजुट हुनुपर्नेमा जोड दिए।

उनले स्थायी कमिटी बैठकको सर्कुलरअनुसार अघि बढ्न पार्टीका नेताकार्यकर्तालाई आग्रह गरे। उनले पार्टीमा गुटबन्दी र स्वार्थ समूहलाई अब छुट दिन नसकिने उल्लेख गरे।

‘पार्टीको नीति, नियम र अनुशासनका विरुद्ध जानेलाई कडा कारबाही गरिनेछ। स्थायी कमिटीको बैठकमा अन्तिमसम्म एकता सुदृढ गर्ने प्रयास भयो। पार्टीको नीतिका विरुद्धमा जाने छुट कसैलाई छैन,’ प्रचण्डले भने।

आसन्न केन्द्रीय समिति बैठकपछि गाउँगाउँमा संगठन निर्माण र विस्तारका लागि नेतालाई जिम्मा दिइने जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast