
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस-युक्रेन युद्धको अन्त्यका लागि युक्रेनले रूसका सर्त स्वीकार गर्नुपर्ने बताएका छन्, जसले विश्व राजनीतिमा ठूलो तरंग ल्याएको छ। उनको यो भनाइले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि ठूलो दबाब सिर्जना गरेको छ। जेलेन्स्कीले ट्रम्पको दबाबमा रूससँग सम्झौता गर्न बाध्य भए भने उनलाई युक्रेनी जनताले मात्र होइन, इतिहासले पनि एक कमजोर र अल्पदृष्टियुक्त नेताको रूपमा चित्रण गर्नेछ।
ट्रम्पको यो रणनीति उनको महत्त्वाकांक्षा, विशेषगरी नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने चाहनासँग जोडिएको देखिन्छ, जसलाई उनले पटकपटक सार्वजनिक रूपमा व्यक्त गरेका छन्। यहाँ ट्रम्पको नीति, उनको रूस-युक्रेन शान्ति प्रयास र यसको विश्वव्यापी प्रभावलाई विश्लेषण गरिएको छ।
ट्रम्प नीति/रणनीति
ट्रम्पको दोस्रो कार्यकाल (जनवरी २०२५) सुरु भएपछि उनको नीतिहरूले विश्वको ध्यान खिचेका छन्। उनले अमेरिका पहिलो नीतिलाई पुनर्जन्म दिँदै विश्व व्यापारमा आक्रामक ट्यारिफ नीति (भन्सार शुल्क) अख्तियार गरेका छन्। अमेरिकाको ३५ ट्रिलियन डलरको (करिब ५ हजार खर्ब रुपैयाँ) ऋणभार कम गर्न र घरेलु उत्पादनलाई प्रोत्साहन दिन उनले विभिन्न देशहरू, विशेषगरी चीन, भारत र अन्य निर्यातकर्ता राष्ट्रहरूमाथि १० देखि ५० प्रतिशतसम्म ट्यारिफ लगाएका छन्। उदाहरणका लागि भारतले रूसबाट तेल आयात गरेको भन्दै अगस्त २०२५ मा ट्रम्पले भारतमाथि २५ प्रतिशत थप ट्यारिफ लगाए, जसले कुल ट्यारिफ ५० प्रतिशत पुगेको छ। यस्ता ट्यारिफले रूसलाई युक्रेनसँग वार्ताको टेबलमा ल्याउन दबाब सिर्जना गरेको मानिन्छ, किनभने भारत रूसको दोस्रो ठूलो तेल खरिदकर्ता हो।
ट्रम्पको यो रणनीति आर्थिक मात्र होइन, उनको वैश्विक कूटनीतिक प्रभाव विस्तार गर्ने योजना पनि हो। उनले बारम्बार आफूलाई विश्वशान्तिको मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेका छन्, जसको उदाहरण भारत-पाकिस्तान तनाव कम गर्न गरेको दाबीमा देखिन्छ। उनले २०१९ मा भारत र पाकिस्तानबीच तनाव कम गर्न मध्यस्थता गरेको दाबी गरेका थिए। पाकिस्तान सरकारले उनलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको समेत उल्लेख गरेका थिए। यद्य, यो दाबी पाकिस्तानले इरानको पक्षमा उभिएपछि २४ घण्टा नबित्दै सेलाएको थियो।
रूस-युक्रेन युद्ध र ट्रम्पको शान्ति प्रयास रूस र युक्रेनबीच सन् २०२२ को फेब्रुअरीदेखि जारी युद्ध अन्त्य गर्ने ट्रम्पको प्रयास उनको दोस्रो कार्यकालको प्रमुख एजेन्डा बनेको छ। उनले युक्रेनलाई रूसको सर्त स्वीकार गर्न दबाब दिँदै युद्धविराम र शान्ति सम्झौताको वकालत गरेका छन्। अगस्त २०२५ मा फक्स न्युजको ‘फक्स एन्ड फ्रेन्ड्स’ मा दिएको अन्तरवार्तामा ट्रम्पले रूस-युक्रेन युद्ध समाप्त गर्नु आफ्नो व्यक्तिगत र नैतिक प्राथमिकता भएको बताएका थिए। उनले भने, ‘मैले हरेक हप्ता सात हजार मानिसको ज्यान बचाउन सकेँ भने मलाई लाग्छ यो स्वर्गमा प्रवेशका लागि पर्याप्त छ।’
ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्काको जोइन्ट बेस एल्मेन्डोर्फ रिचर्डसनमा अगस्त १५ मा भेटवार्ता गरे, जुन उनको शान्ति पहलको हिस्सा थियो। यो बैठकमा कुनै ठोस सम्झौता भएन तर ट्रम्पले पुटिनलाई युद्धविराम नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए। पुटिनले भने रूसले आफ्ना मूल लक्ष्यबाट पछि नहट्ने र युक्रेनको नेटो सदस्यता स्वीकार्य नहुने अडान दोहोर्याए।
ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई पनि वासिंटन डीसीमा अगस्त १९, २०२५ मा भेटे, जहाँ उनले युक्रेनलाई रूससँग सम्झौता गर्न दबाब दिए। उनले युक्रेनले क्रीमिया र डोनेस्कजस्ता क्षेत्रहरू रूसलाई छोड्नुपर्ने र नेटो सदस्यता त्याग्नुपर्ने सुझाव दिए। यस्तो सम्झौताले युक्रेनको क्षेत्रीय अखण्डता र सम्प्रभुतामाथि गम्भीर असर पार्ने देखिन्छ र जेलेन्स्कीले यस्तो सम्झौता गर्नु भनेको उनको नेतृत्वमाथि ठूलो प्रश्नचिह्न उठ्नु हो।
असजिलोमा जेलेन्स्की
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो क्षेत्रीय अखण्डता र सम्प्रभुतामा सम्झौता नगर्ने अडान लिएका छन्। अगस्त १८ मा ह्वाइट हाउसमा ट्रम्पसँगको भेटअघि उनले भने, ‘शान्ति वार्ता वर्तमान मोर्चाको रेखाबाट सुरु हुनुपर्छ र युक्रेनले आफ्नो सम्प्रभुतामाथि कुनै सम्झौता गर्दैन।’ युक्रेनले अमेरिका र युरोपेली सहयोगीबाट नेटो जस्तै सुरक्षा ग्यारेन्टीको माग गरेको छ तर ट्रम्पले युक्रेन नेटोको सदस्य बन्न नसक्ने स्पष्ट पारेका छन्।
जेलेन्स्कीले रूससँगको युद्धमा युक्रेनी जनताको बलिदान र देशको अस्तित्वको लडाइँलाई बारम्बार जोड दिएका छन्। उनले रायसिना डायलगमा भनेका थिए,‘यो युद्ध हाम्रो अस्तित्वको सवाल हो। हामीले ५० प्रतिशत कब्जा गरिएको क्षेत्र मुक्त गरेका छौँ र काला सागरमा अनाज गलियारा स्थापना गरेका छौँ।’ तर ट्रम्पको दबाब र युरोपेली सहयोगीहरूको कमजोर समर्थनले जेलेन्स्कीलाई कठिन अवस्थामा पुर्याएको छ। उनले रूसको सर्तमा सम्झौता गरे भने युक्रेनी जनताको बलिदानको औचित्य साबित गर्नुपर्ने हुन्छ, जुन असम्भवजस्तै देखिन्छ।
नोबेल शान्तिको भूत
ट्रम्पले रूस-युक्रेन शान्ति सम्झौतालाई नोबेल शान्ति पुरस्कारसँग जोडेर हेरेको भन्न सकिन्छ। उनले फक्स न्युजसँग भने, ‘मैले यो युद्ध रोकेँ भने नोबेल शान्ति पुरस्कारभन्दा पनि ठूलो उपलब्धि हुनेछ।’ हुन त उनको यो महत्त्वाकांक्षा नयाँ होइन। उनको पहिलो कार्यकालमा सिंगापुरमा नेपाली गोरखा-सुरक्षाको साथमा उत्तर कोरियासँगको शान्ति वार्ता र अफगानिस्तानमा दोहा सम्झौताका लागि पनि उनको नाम नोबेल पुरस्कारको लागि नामांकन भएको थियो। जुन आफैँमा उदेकलाग्दा कुरा पनि हुन्। पूर्वराजदूत एवं भारतीय कूटनीतिज्ञ राकेश सुदले भने, ‘ट्रम्पलाई ट्यारिफ र नोबेल शान्ति पुरस्कारको लोभ छ। उनी यसका लागि जे पनि गर्न सक्छन्।’
ट्रम्पको महत्त्वाकांक्षाले उनको नीतिहरूलाई प्रभावित गरेको देखिन्छ। उनले रूस-युक्रेन युद्धलाई समाप्त गर्न आर्थिक दबाब (ट्यारिफ र प्रतिबन्धहरू) र कूटनीतिक वार्तालाई हतियार बनाएका छन्। तर उनको रणनीतिमा युक्रेनको हितभन्दा अमेरिकाको प्रभाव र उनको व्यक्तिगत छवि प्राथमिकतामा देखिन्छ। उनको कतिपय कुरा आत्मकेन्द्रित पनि देखिएको छ।
अमेरिकी प्रभाव र विश्वास
ट्रम्पको नीतिहरूले विश्वव्यापी समीकरणमा ठूलो परिवर्तन ल्याउने सम्भावना देखिन्छ। हुन त अमेरिकाले अध्ययन गरेरमात्र कैयन् नीति लागू गरेको भन्ने उदाहरण छन् तर अहिलेको यो नीति लामो अध्ययन र छलफलबाट आएको झैँ लाग्दैन। किनभने यो नीति आफैँमा अपत्यारिलो र विश्वको गतिभन्दा फरक छ। तर यसको प्रभाव भने सबै तिर पर्ने देखिन्छ। जुन अमेरिकी नागरिक र उसको पैरवीप्रति विश्व नागरिकको धारणा परिवर्तन हुनेछ। लोकतान्त्रिक मुलुक अमेरिकामा त्यहाँ अध्यापन गर्ने प्राध्यापकहरू मुखमा ताला लगाएर बस्न पर्ने अवस्था छ। यसले गर्दा पनि अमेरिकाको ओरालो यात्रा सुरु भएको हो कि भन्नेहरू छन्।
ट्रम्पको शान्ति प्रयासले युक्रेनलाई कमजोर बनाएमा यसले ताइवान, दक्षिण कोरिया र अन्य अमेरिकी सहयोगी राष्ट्रहरूमा अमेरिकाप्रति विश्वास कमजोर बनाउन सक्छ। जसको ढोका खोलेर प्रक्रिया अघि बढाएको देखिन्छ। जसले गर्दा त्यो साँच्चै आफैँमा अपत्यारिलो पनि लाग्छ। ताइवान, जुन चीनको दबाबमा छ र अन्य साना राष्ट्रहरूले अमेरिकी सुरक्षा ग्यारेन्टीमाथि प्रश्न उठाउन सक्छन्। अमरिकाले अहिले पनि विश्वभर आफ्नो प्रभुत्व जमाउन सक्नुको कारण भनेको नै क्षेत्रीय हिरो तयार गर्ने र त्यस आसपासलाई त्यही हिरो मुलुकले आफ्नो पक्षमा राख्ने गर्छ।
ट्रम्पको नीतिले अमेरिकालाई ‘लडाएर लाभ लिने’ देशका रूपमा चित्रण गर्न सक्छ, जसले इतिहासमा नकारात्मक प्रभाव छोड्नेछ। यसबाहेक, ट्रम्पको ट्यारिफ नीतिले विश्व व्यापारमा तनाव सिर्जना गरेको छ। भारतमाथिको ट्यारिफले रूसलाई वार्तामा ल्याउन भूमिका खेलेको भए पनि, भारतले यसलाई ‘अनुचित’ भन्दै जवाफी कदम चाल्ने चेतावनी दिएको छ। यस्ता नीतिहरूले विश्व व्यापार संगठन (डब्लूटीओ) को नियमहरू र वैश्विक आपूर्ति शृंखलालाई समेत प्रभावित हुनेछ।
निष्कर्ष
डोनाल्ड ट्रम्पको रूस-युक्रेन शान्ति प्रयास उनको व्यक्तिगत महत्त्वाकांक्षासँगै अमेरिकाको आर्थिक र कूटनीतिक रणनीतिसँग गाँसिएको देखिन्छ। यसमा ट्रम्पलाई परम्परावादी अमेरिकीहरुको पनि साथ देखिन्छ। रिपब्लिकनहरुले ट्रम्पलाई राष्ट्रपति बनाएर उनीमार्फत रिपब्लिकनको भित्री आका्रक्षा पूरा गर्न खोजेको पनि देखिन्छ। कुनै व्यक्तिको आकांक्षा पूरा गर्न नै अमेरिका लागेको हो भने उसको विश्व शक्तिको यात्रा टंगिएको ठहरिनेछ। जुन अमेरिकाका लागि मात्र होइन उसका क्षेत्रीय तथा भेगीय सहयोगी मुलुकमा पनि असर पर्नेछ।
ट्रम्पको दबाबमा जेलेन्स्कीले रूसको सर्त स्वीकार गरे भने युक्रेनको क्षेत्रीय अखण्डता र सम्प्रभुता खतरामा पर्ने मात्र होइन जेलेन्स्कीमाथि ऐतिहासिक रूपमा कठोर आलोचना हुनेछ। ट्रम्पको ट्यारिफ नीति र शान्ति सम्झौताको प्रयासले विश्वमा अमेरिकाको प्रभाव बढाउन सक्छ तर यसले युक्रेनजस्ता कमजोर राष्ट्रहरूको बलिदानलाई बेवास्ता गर्न सक्छ। यस्तो अवस्थामा युक्रेनी जनताको बलिदान र जेलेन्स्कीको नेतृत्वको औचित्यमाथि ठूलो प्रश्न उठ्नेछ । अमेरिकामाथि भरोसा गर्ने राष्ट्रहरु अमेरिकाबाट बाहिर निस्कनेछन्।
सबैले उसका कुरामा सहमत जनाएर नै अमेरिका ठूलो र शक्तिशाली बनेको हो। अमेरिकाको कुरा नै कसैले नमान्ने र नसुन्ने अवस्था आएमा ऊ कसरी शक्तिशाली र बलियो मुलुक हुन्छ? धनले मात्र बालियो हुने हो भने त जापान पहिले नै शक्तिशाली हुनुपर्ने। लोकतान्त्रिक मान्यतासँगै उदारपन र शक्ति मात्र होइन उसको निर्णय क्षमता र निर्दोषका कुरा सुन्ने क्षमता यसमा पर्छ। ट्रम्पको नीतिले विश्व समुदायमा अमेरिकाको विश्वसनीयतामाथि दीर्घकालीन प्रभाव पार्नेछ र अमेरिका झनै कमजोर हुँदै जाने देखिन्छ। यसको लोकप्रियता घट्नेछ।
(बानका पूर्वअध्यक्ष अग्रज पत्रकार झा नेपाली कांग्रेस सञ्चार विभागका सदस्य सचिव हुन्।)