लिपुलेकबारे विश्वप्रकाशको धारणा : अनेकौँ फरक मतलाई सर्वदलीय बैठकमार्फत एक बनाऔँ, भारत भ्रमणमा कुरा उठाऔँ

हिमाल प्रेस ५ भदौ २०८२ ११:४२
14
SHARES
लिपुलेकबारे विश्वप्रकाशको धारणा : अनेकौँ फरक मतलाई सर्वदलीय बैठकमार्फत एक बनाऔँ, भारत भ्रमणमा कुरा उठाऔँ

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको आसन्न भारत भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउनुपर्ने बताएका छन्।

भारतले लिपुलेकबारे नेपालको दाबी एकतर्फी र ऐतिहासिक तथ्यविपरीत रहेको बताएपछि महामन्त्री शर्माले ऐतिहासिक तथ्यहरूका आधारमा चीन र भारत दुवैलाई नेपालले विश्वासमा लिन जरूरी रहेको बताएका हुन्।

महामन्त्री शर्माले सर्वदलीय, सर्वपक्षीय बैठक राख्न पनि सरकारलाई सुझाव दिएका छन्।

‘बैठकमार्फत् विकसित घटनाक्रममा हाम्रो ऐक्यबद्ध दृष्टि र साझा प्रतिबद्धता निर्माण गर्ने। हाम्रो संसदले ३१ जेठ २०७७ मा संविधानको अनुसूची ३ मा सर्वसम्मत पारित गरेर स्पष्ट गरेको ‘चुच्चे नक्सा’ प्रति देशभित्र र अन्तर्राष्ट्रिय जगतमा थप स्पष्टता पार्नुपर्छ,’ सामाजिक सञ्जाल एक्समा बिहीबार शर्माले उल्लेख गरेका छन्, ‘भारत र चीनबीच १५ मे २०१५ मा लिपुलेकबारे भएको अघिल्लो सहमति उपर नेपालले पठाएको कुटनैतिक नोट समेत स्मरण गराउँदै पछिल्लो सहमति उपर पुन कुटनैतिक नोट पठाउने।’

त्यस्तै नेपाल–भारत सीमा र सम्बन्धबारे बौद्धिक सुझावकालागि दुवै देशको सहमतिमा गठित प्रबुद्ध समूहको सात वर्षअघि तयार प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्न र त्यसलाई आधार मानेर अन्य बिषयहरू समेतको हल खोज्न नेपालका तर्फबाट प्रस्ताव गर्नुपर्ने पनि उनले बताएका छन्।

‘लिपुलेक नेपालको हो। अनेकौं फरक मतकाबीच पनि सिंगो नेपाल एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिन जरूरी छ,’ उनले भने।

यसअघि परराष्ट्र मन्त्रालयले लिपुलेक नेपालको अभिन्न भूभाग रहेको बताइसकेको छ।

बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले संविधानमा नेपालको आधिकारीक नक्सामा उक्त भूभाग समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट रहेको बताएको हो।

प्रकाशित: ५ भदौ २०८२ ११:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast