
काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले आकस्मिकरूपमा संसदीय दलको बैठक बोलाएका छन्। एमालेले १०ः ४५ देखि बस्नेगरी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको छ। एमालेका एक सांसदका अनुसार आजको बैठकको एजेन्डा नखुलाइ आह्वान गरिएको हो। ‘खासै धेरै एजेन्डाका कुरा गरेको छैन। अल्पअल्प रूपमा उपसभामुखलाई महाअभियोग लगाउने भन्ने छ।’ एक सांसदले भने।
एमालेसँगै सत्तारुढ नेपाली कांग्रेसले पनि बैठक बोलाएको छ। कांग्रेसका एक सांसदका अनुसार अहिले बैठक जारी छ। तर, त्यहाँ पनि एजेन्डाबारे खुलाइएको छैन। बैठक सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी छ।
उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको कांग्रेसले छलफल र हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको बताइएको छ । १२ बजेभित्र सांसदहरू दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने छ ।
उपसभामुख इन्दिरा रानामगरले संसद् सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो। उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो।