
काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीय निजामती सेवा विधेयकलाई समयसापेक्ष बनाएर अघि बढाइने बताएकी छन्।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री न्यौपानले विधेयकमाथि उठेका आशंकालाई समेत निराकरण गर्दै समयसापेक्ष बनाएर अघि बढाइने बताएकी हुन्।
उनले कर्मचारी सरुवा, बढुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउनसमेत विधेयकलाई छिटो अघि बढाउनुपर्नेमा जोड दिइन्। कर्मचारीहरुले भनसुनका आधारमा नभई मापदण्डका आधारमा स्वचालित सरुवा प्रणालीलाई विशेष ध्यान दिइएको उनले बताइन्।
बैठकमा समिति सदस्यहरुले संविधान, संघीयता, समानुपातिक समावेशिता र पारदर्शिताका साथै विधेयकमाथि उठेका प्रश्नलाई समेत ध्यान दिएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
समिति सदस्य घनश्याम रिजालले निजामति कर्मचारीको सेवा सुविधाका लागि विधेयक बनाए पनि उनीहले नै विधेयकलाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाए। उनले बाहिर देखिएका जिज्ञासालाई समाधान गर्दै विधेयकलाई अघि बढाउनुपर्ने बताइन्।
त्यस्तै समिति सदस्य भुवनबहादुर सुनारले उक्त विधेयकमाथि राष्ट्रियसभाबाट पनि गडबडी हुन्छ भन्ने आशंका हट्ने वातावरण तयार गर्नुपर्ने जिकिर गरे।
त्यस्तै समिति सदस्य सुरेश आलेमगरले सर्वाधिक चासोको रुपमा रहेका विधेयकलाई संघीयताको मर्मअनुरुप अघि बढाउन सुझाव दिए।
प्रतिनिधिसभाबाट पारित उक्त विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएको हो। विधेयकमाथि १९३ वटा प्रस्ताव दर्ता भएका छन्।