भारतद्वारा नेपाली सेनालाई सहयोग

हिमाल प्रेस २ भदौ २०८२ १५:१७ | Monday, August 18, 2025
भारतद्वारा नेपाली सेनालाई सहयोग

काठमाडौँ– भारतीय सरकारले नेपाली सेनालाई सवारीसाधन, घोडा र विपद्पछिको घटनाको अनुसन्धानमा प्रयोग हुने कुकुर सहयोगस्वरुप उपलब्ध गराएको छ। नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिसरीले सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार आयोजित कार्यक्रममा ती सहयोग हस्तान्तरण गरेका हुन्।

भारतबाट ६ थान सवारीसाधन, पाँचवटा घोडा र विस्फोटन तथा विपद्का घटनापछि खोजी र अनुसन्धानमाप्रयोग हुने दुई वटा कुकर प्राप्त भएको छ।

यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र विदेशसचिव मिसरीबीच शिष्टाचार भेटवार्ता भएको थियो। भेटका अवसरमा दुई देशबीचको सहयोग, सम्बन्ध र आपसीहितका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाल र भारतबीच राजनीतिक तहमा मात्र नभइ सैनिक र जनस्तरमा समेत ज्यादै न्यानो र प्रगाढ सम्बन्ध रही आएको छ। नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको सम्मान प्रदान गर्ने अनुपम परम्परा छ।

नेपाल र भारतबीच लामो समयदेखि वार्षिकरुपमा ठूलो संख्यामा एकअर्का देशमा सैनिक तालिम र प्रशिक्षणका कार्यक्रम सञ्चालन हुँदै आएको छ।

एकै खालको भाषा, धर्म र संस्कृतिका तथा पुरानो मित्रवत र खुला सीमाका कारण भारत–नेपालबीच एकअर्का देशमा सहज आवतजावतले मित्रतालाई जनस्तरमा घनिष्ट तुल्याएको छ।

हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाली सेनाका उच्च अधिकृत सहभागी थिए।

प्रकाशित: २ भदौ २०८२ १५:१७ | Monday, August 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast