
पोखरा- नातेदार बालिकालाई जबर्जस्ती करणी गरी अश्लील भिडियो बनाउने पोखराका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने युवक २२ वर्षका हुन्।
प्रहरीले उनलाई २ दिनअघि पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । निज विरुद्द जवरजस्ती करणीसम्बन्धी कसूर, बालबालिकाविरुद्दको कसूर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार एक युवकले विद्युतीय माध्यम प्रयोग गरी अश्लील भिडियो डिजिटल प्लेट फर्ममा राखेको भन्ने साइबर ब्यूरो काठमाडौंबाट प्राप्त कागजात विषयमा अनुसन्धान गर्दै जाँदा आफ्नै हाडनातामा पर्ने बालिकालाई जबर्जस्ती करणी गरेको खुलेको हो ।
ती युवकले नामथर वतन परिवर्तित ‘२०८२।०८३ पोखरा १३’ लाई जवरजस्ती करणी गरेको र अर्की बालिका हाल नामथर वतन परिवर्तित ‘२०८२-०८३ पोखरा १२’ लाई समेत बाल यौन दुर्व्यवहार गरी सो समेतको भिडियोहरू आफ्नो डिजिटल प्लेटफर्ममा सेभ गरी राखेको पाइएको छ। उनलाई नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको सहकार्यमा जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको प्रहरी टोलीले ३० साउनमा पक्राउ गरेको हो ।
प्रहरीले बालिकाको पहिचान खुल्ने भएकोले ती युवकको नाम समेत गोप्य राखिएको जनाएको छ।