छाडा कुकुर र चरन क्षेत्र अभावले भेडापालक किसान समस्यामा

हिमाल प्रेस २ भदौ २०८२ ६:५३
4
SHARES
छाडा कुकुर र चरन क्षेत्र अभावले भेडापालक किसान समस्यामा

भोजपुर- सहज चरीचरन नहुँदा यहाँका भेडापालक किसान समस्यामा परेका छन् । व्यावसायिक रुपमा भेडा पालन गरिरहेका किसानको पेसा नै संकटमा परेको हो।

चरन क्षेत्रको अभावसँगै छाडा कुकुरका कारण भेडा पालन पेसा संकटमा परेको स्थानीय ७२ वर्षीय भेडापालक किसान गोविन्द कठेतले बताए । उनका अनुसार, दुई वर्षको अवधिमा करिब २० जनाले भेडा पालन व्यवसाय छाडेका छन् ।

कृषक कठेतले भने, ‘सामुदायिक वनमा चराउन शुल्क तिर्नुपर्छ । चरण क्षेत्रको अभावका कारण धेरैले व्यवसाय छाड्दै गएका छन् । चरनमा छाडा कुकुरले भेडा मारी दिँदा नोक्सानी भोग्नुपरेको छ ।’

मैयुङ क्षेत्रमा भोजपुर र खोटाङका १८ देखि २० जना मात्र अहिले व्यावसायिक रुपमा भेडा पालन गरिरहेका छन् । राज्यले संरक्षण नगरे यो पेसा संकटमा पर्ने कठेतको भनाइ छ । मैयुङ क्षेत्रमा पर्ने सात वटा सामुदायिक वनमा शुल्क तिर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए। एउटा वनमा चराएबापत प्रति भेडी गोठ पाँच सयदेखि पाँच हजारसम्म शुल्क तिर्नुपर्छ । करिब तीन महिना मात्र सो क्षेत्रमा भेडा चराए एक वर्षको शुल्क तिर्नुपर्ने अवस्था छ । कृषक कठेतले भने, ‘वनका आआफ्ना नियम छन् । कसैले प्रति भेडा रु ५० लिन्छन्, कसैले एकमुष्ट लिने गरेका छन् ।’

छाडा कुकुर पनि भेडापालक किसानका लागि ठुलो चुनौती बनेको अर्का किसान शेरबहादुर कठेतले बताए । गत पुसदेखि हालसम्म कुकुरले यहाँका भेडी चोकका करिब एक सयको हाराहारीमा भेडा मारेको उनले बताए । उनले भने, ‘कुकुरले छिनभरमा भेडा मारिदिन्छ । स्थानीय सरकारले कुकुर नियन्त्रणमा ध्यान दिनुपर्छ ।’

भेडापालक कृषकले भेडा, ऊन, घ्यू, महीलगायत बिक्रीबाट आम्दानी लिनुका साथै ऊनबाट बन्ने राडी, लुकुनीलगायत बिक्री गर्दै आएका छन् । एक सय वटासम्म भेडा भए वार्षिक चार लाखसम्म आम्दानी हुने कृषकको भनाइ छ । रासस

प्रकाशित: २ भदौ २०८२ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast