
ललितपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताएका छन्। आइसिटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ, २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जाल नेपालको प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्वहरू पूरा गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन यसअघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइसकेका छन्। ‘सूचना प्रविधिसँग सम्बन्धित रहेर नेपालमा हुने सबै किसिमका कारोबार नेपाल सरकारले थाहा पाउनुपर्छ, नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जालले कानुनअनुसार दायित्व पूरा गर्नुपर्छ र कर तिरेको हुनुपर्छ’प्रधानमन्त्री ओलीले भने।
सूचना प्रविधिका क्षेत्रको विकासका लागि सरकारले वातावरण बनाउने बताउँदै उनले भने,‘सरकार जनताका लागि हो, जनताले चाहेको सूचना प्रविधिको विकास र प्रवद्र्धनमा सरकारले ध्यान दिन्छ,सूचना प्रविधिका क्षेत्रमा स्वदेश र विदेशमा लगानी गरेर आम्दानी गर्न सकिन्छ, तपाईंहरु आत्मविश्वासका साथ अगाडि बढ्नुस्, सरकार तपाईंको साथमा छ।’
प्रधानमन्त्री ओलीले तीव्र रुपमा विकास भएको सूचना प्रविधिले मानिसलाई घिसारिरहेको उल्लेख गर्दै पुष्पलाल मध्यपहाडीको आफ्नो यात्राका क्रममा रुकुमको दुर्गम गाउँका बूढीआमाहरुले पनि फेसबुक चलाउन जानेको जानकारी पाउँदा खुसी लागेको स्मरण गरे।
उनले डिजिटल प्रविधि र हरित ऊर्जाका लागि नेपाल उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै आर्टिफिसियल इन्टेलिजेन्सको भरपुर प्रयोग गरेर विकास र समृद्धिमा लाग्नुपर्नेमा जोड दिए।
आफ्नो घोषणाबमोजिम अनलाइन माध्यमबाट गत वर्षदेखि एसईईका विद्यार्थीलाई शिक्षण गराउँदा एक लाख ५० हजारभन्दा बढीले लाभ लिएर नतिजामा सुधार आएको उनको भनाइ थियो। उनले बालबालिकालाई मोबाइलबाट जोगाउँदै शिक्षा र विकासमा यसको सदुपयोग गर्नुपर्ने बताए।