झुम्का कारागारबाट कैदी भागेपछि छानबिन समिति गठन

हिमाल प्रेस २८ साउन २०८२ १९:४९ | Wednesday, August 13, 2025
झुम्का कारागारबाट कैदी भागेपछि छानबिन समिति गठन

इटहरी- जबर्जस्ती करणी (बलात्कार) मुद्दामा सजाय तोकिएका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल (खत्री) सुनसरीको झुम्का कारागारबाट फरार भएपछि छानबिन समिति गठन गरिएको छ।

कारागारका जेलर सुवासकुमार लामिछानेका अनुसार कारागारको पर्खाल नाघेर बुधबार बिहान २ बजेतिर खत्री फरार भएको चौकीदारले कारागार प्रशासनलाई जानकारी गराएका थिए। सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई अदालतले पुर्पक्षका लागि २१ साउन २०८१ मा कारागार चलान गर्न आदेश दिएको थियो।

पछिल्लोपटक २५ चैत २०८१ मा जिल्ला अदालत सुनसरीले १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो। अदालतको फैसला अनुसार सजाय भुक्तान गरिरहेका उनी फरार भएपछि छानबिन समिति बनाइएको छ। कारागारको बी ब्लकबाट १६ फिट अग्लो वाल नाघेर उनी भागेका हुन्।

जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

उक्त समितिले कारागारको वस्तुस्थितिको अध्ययन गर्नेदेखि कैदी फरार भएकाको सन्दर्भसमेत समेटेर प्रतिवेदन तयार पार्ने उनले बताए। कारागारमा झण्डै १८ सय कैदीबन्दी छन्।

प्रकाशित: २८ साउन २०८२ १९:४९ | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast