प्रधानमन्त्रीको प्रश्न- एक व्यक्तिमाथि मात्र प्रतिशोध भनिन्छ, अरू थुनामा रहेका के?

हिमाल प्रेस २८ साउन २०८२ १५:५७
14
SHARES
प्रधानमन्त्रीको प्रश्न- एक व्यक्तिमाथि मात्र प्रतिशोध भनिन्छ, अरू थुनामा रहेका के?

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भीडद्वारा कुनै एक अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राखिएका आधारमा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूबाट समयले यसको जवाफ सधैँ माग्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भीडको पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो पनि भएको टिप्पणी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेतर्फ इंगित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘लाखौँ जनताले सहकारीमा गरेको वचत हिनामिना गर्ने सयौँ व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ। अदालतले मुद्दा हेरिरहेको छ। पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयरलगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौँ व्यक्तिहरूलाई अदालतले थुनामा पठाएको छ। तर अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ। एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो? त्यो चाहिँ कानुनी कारबाही हो? अर्बौं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौँमध्ये कुनकुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो? कुन कुन व्यक्तिमाथिको थुना जायज हो?’

उनले यस्ता कुरालाई लिएर लगातार संसद् अवरुद्ध गरी विस्मयकारी, भावनात्मक र हानिकारक उत्तेजनाको एकालापमा मुलुकलाई लैजानु कदापि उचित नहुने बताए।

प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयले गर्ने निर्णय सरकार अनुकूल वा प्रतिकूल जेसुकै भए पनि त्यसमा सरकारको हात नहुने स्पष्ट गर्दै संसद्, सरकार, न्यायालयलगायत आफ्नो काम गर्नुपर्ने लोकतान्त्रिक प्रणालीका सबैजसो अंगहरूलाई पेसेवर ‘मास म्यानुपुलेसन’को आक्रमणबाट बचाउनुपर्ने बताए।

सहकारी संस्थामा वचत रकम हिनामिना बनाएको आरोपमा सभापति लामिछाने पुर्पक्षका लागि रुपन्देही कारागारमा छन्। उनी नेतृत्वको पार्टी रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न गरेको भन्दै उच्चस्तरीय छानबिन समिति माग गर्दै संसद् बहिष्कार गरेको छ। रास्वपाले आफ्ना सभापतिलाई कारागारमा राखिनु राजनीतिक प्रतिशोध भएको बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast