
इटहरी- मंगलबार कोशीटप्पु वन्यजन्तु आरक्षको हात्तीसारमा खीर, फलफूल, उखुजस्ता परिकार सजाइएका थिए। हात्तीहरूले ढिलो-ढिलो पाउ चाले, सुँडले परिकार टिपे र रमाइलो गर्दै खाए। जसले त्यहाँ उपस्थित पर्यटकदेखि स्थानीयसम्म सबैको अनुहारमा मुस्कान झल्कियो।
अगस्ट १२–विश्व हात्ती दिवस। सन् २०१२ बाट सुरु भएको यो दिवसले हात्तीको अस्तित्व र महत्वप्रति ध्यान केन्द्रित गर्दै आएको छ। यस वर्ष कोशीटप्पु वन्यजन्तु आरक्षमा हात्तीहरूलाई मीठो परिकार ख्वाएर र स्थानीयलाई संरक्षणको सन्देश सुनाएर दिवस विशेष रूपमा मनाइएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले हात्तीको धार्मिक, सांस्कृतिक र वातावरणीय महत्व रहेको बताए। ‘हात्ती दिवस भनेको हात्तीको संरक्षणका लागि गरिएको प्रतिज्ञा हो,’ उनले भने, ‘हात्ती हाम्रो प्राकृतिक सम्पदा मात्र होइन, हाम्रो संस्कृतिको अभिन्न अङ्ग हो। यसको संरक्षणमा सबैको सक्रिय सहभागिता अनिवार्य छ।’
उनका अनुसार आम मानिसमा हात्तीको व्यवहारबारेको सचेतनाले मानव–हात्ती द्वन्द्वलाई न्यूनीकरण गर्न सकिन्छ। हात्तीलाई केवल जंगली जनावरको रूपमा नभई प्रकृतिको अनुपम उपहारका रूपमा स्वीकार्ने सोच विस्तार हुँदै गएको उनले बताए।
पूर्वी तराईमा हात्तीमार्गमा बस्ती, सडक र अन्य पूर्वाधार विस्तार, साथै बासस्थान अतिक्रमणका कारण मानव–हात्ती द्वन्द्व बढ्दो अवस्थामा रहे पनि कोशी टप्पुबाट भने सहजै जंगली हात्ती पनि नियाल्न सकिने भएकाले बाह्य पर्यटकसमेत बढ्दै गएको उनले बताए।
‘यहाँ रहेका हात्तीहरू अवलोकन गर्नका लागि कोशी र मधेश प्रदेशमात्रै होइन, भारतबाट पनि पर्यटकहरू आउने गरेका छन्। खासगरी जंगली हात्ती पनि सहजै नियाल्न पाइने भएकाले पर्यटकको आकर्षण हुन्छ।’
गौतमका अनुसार आरक्षमा रहेका हात्तीहरूकै कारण कोशी प्रदेश तथा मधेश प्रदेशका विभिन्न जिल्लाहरू र भारतबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने गरेका छन। सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षमा सुनसरीसँगै सीमा जोडिएको नाकाबाट भारतीय पर्यटकहरू आउने उनले बताए। कोशी टप्पु वन्यजन्तु आरक्षमा अन्य आरक्ष र निकुञ्जमा भन्दा सहज तरिकाले जंगली हात्तीहरूसमेत अवलोकन गर्न सकिने गौतमले जनाए।
आरक्षका रेञ्जर अंकित पौडेलका अनुसार हाल आरक्षमा १० वटा हात्ती छन्। हात्तीको संरक्षणसँगै पर्यटनको दृष्टिले पनि अद्वितीय बनाएको उनले बताए।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर खड्काले स्थानीयमा हात्ती संरक्षणबारे चेतना बढ्दै गएको बताए। हात्तीका कारण हुने मानवीय क्षति घट्दै गएको भएपनि खेत, बाली तथा सम्पत्तिमा हुने क्षति न्यूनिकरणका लागि अझै पनि सबै सरोकारवालाको एकजुट प्रयास आवश्यक रहेको उनले बताए। उनले भने, ‘सबै सरोकारवालाहरू एकजुट भएर मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न आवश्यक छ।’
नेपालमा सन् २००० देखि अहिलेसम्म हात्तीको आक्रमणबाट ३४५ जना मानिसको मृत्यु भएको छ। जसमा ५५ वटा हात्तीको मृत्यु करेन्ट, गोली प्रहार तथा अन्य कारणले मरेका छन्। पछिल्लो १२ वर्षमा कोशीमा मात्रै ११ वटा हात्ती मरेका छन्।
२०७० सालदेखि असार मसान्तसम्ममा कोशी टप्पु वन्यजन्तु आरक्ष कोशीमा पर्ने सुनसरी, उदयपुर र मधेसको सप्तरीमा ११ वटा हात्ती मृत भेटिएको हो । तथ्याङ्कअनुसार ०७० सालमा २५ वर्षको, ०७२ सालमा सप्तरीमा २० वर्षको, ०७४ सालमा उदयपुरमा ३० वर्षको, ०७५ मा सुनसरीमै २५ वर्षको, ०७७ मा सप्तरीमा २८ वर्षको र ०७८ मा सुनसरीमै ३५ वर्षको मकुना हात्ती मृत भेटियो ।
यसैगरी ०७९ सालमा उदयपुरमा ३४ वर्ष र सुनसरीमा १२ वर्षको गरी दुईवटा हात्ती मृत भेटियो । यस्तै ०८१ सालमा २४ वर्षको, ०८२ सालमा दुईवटा १५ र १९ वर्षको गरी तीनवटा हात्ती सुनसरीमै मृत फेला पर्यो।
राष्ट्रिय प्रकृति संरक्षण कोष कोशीका प्रमुख गौतम भन्छन्, ‘पछिल्लो अवस्थामा धेरैजसो हात्तीको मृत्यु करेन्टका कारण भएको देखिएको छ। कतैकतै गोली नै लागेर पनि हात्ती मृत भेटिएका छन्।’
हात्तीको व्यवहारबारे मानिसलाई सचेतना नभएकै कारण हात्तीले अकालमै ज्यान गुमाउने उनले सुनाए। ‘हात्तीको व्यवहारबारे सचेतना दिएमा हात्तीबाट बच्न सकिन्छ । अहिले पनि मानिसकै व्यवहारका कारण कतिपय हात्ती घाइते भएका छन्।’
हात्ती र मानव सहअस्तित्वका लागि सचेतना नै मुख्य अभ्यास रहेको उनको भनाइ छ। अभियन्ताहरू भन्छन्, ‘हात्तीको संरक्षण जैविक विविधता, सांस्कृतिक सम्पदा र पर्यावरणीय सन्तुलनको लागि अत्यन्त महत्वपूर्ण छ । हात्ती जोगे प्रकृति जोगिन्छ र प्रकृति जोगिए हाम्रो भविष्य सुरक्षित हुन्छ।’