वार्षिक पाँच लाख युवा श्रम बजारमा, पाँच प्रतिशतलाई मात्र रोजगारी

हिमाल प्रेस २७ साउन २०८२ १३:०१
8
SHARES
वार्षिक पाँच लाख युवा श्रम बजारमा, पाँच प्रतिशतलाई मात्र रोजगारी

काठमाडौँ- ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागितामा समृद्धिको आधार’ नारासहित नेपालमा पनि अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। राष्ट्रिय युवा परिषद्को आयोजनामा हुने यो दिवसले २० वर्ष पूरा गरेको छ तर युवाको मुख्य समस्या अझै रोजगारी र उद्यमशीलता नै रहेको छ।

परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार बर्सेनि करिब पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्छन् तर करिब पाँच प्रतिशतले मात्र स्वदेशमा रोजगारी पाउँछन्। सरकारले सबैलाई रोजगारी दिन नसके उद्यमशील बनाउन सहुलियतपूर्ण कर्जा र आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ। उनले ब्याज अनुदान कार्यविधि २०७५ प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६–४० वर्षका युवा ४२.५६ प्रतिशत छन्। स्थानीय तहमा ३९.६५ प्रतिशत, प्रदेशमा २३.६३ प्रतिशत र संघीय संसदमा १३.९ प्रतिशत युवा सहभागिता छ। बस्नेतका अनुसार कृषि, पर्यटन, जलस्रोत, सूचना प्रविधि र सेवा व्यवसायमा युवालाई परिचालन गर्न आवश्यक छ।

युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे, नेपाल तरुण दलका दिल लामा र वाइसिएलका अध्यक्ष पुष्प ओलीले युवालाई स्वदेशमै स्वरोजगार र उद्यमशील बनाउन राज्यको नीति कार्यक्रम केन्द्रित हुनुपर्ने बताएका छन्। उनीहरूका अनुसार सूचना प्रविधि, पर्यटन, कृषि र ई–कमर्सजस्ता क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको छ।

सरकारले युवा तथा खेलकुद मन्त्रालय (२०६५) र राष्ट्रिय युवा परिषद् (२०७२) गठन गरी युवा विकास, क्षमता अभिवृद्धि, उद्यमशीलता र स्वरोजगारका कार्यक्रम ल्याए पनि नीति कार्यान्वयन कमजोर छ। बस्नेतले विभिन्न मन्त्रालयमा छरिएका युवा लक्षित कार्यक्रमलाई एकीकृत गरी प्रभावकारी बनाउन आग्रह गरेका छन्।

प्रकाशित: २७ साउन २०८२ १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast