
काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालस्थित अष्ट्रेलियाका राजदूत लिआन जोनस्टनले शिष्टाचार भेट गरेका छन्।
ऊर्जा मन्त्रालयमा आइतबार भएको भेटमा मन्त्री खड्काले नेपाललाई अस्ट्रेलियाले गर्दै आएको सहयोगप्रति आभार प्रकट गरे। मन्त्री खड्काले अष्ट्रेलियाले नेपाललाई दिँदै आएको छात्रवृत्ति तथा क्षमता विकास कार्यक्रमले नेपालको जनशक्ति सुदृढीकरणमा निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरे।
भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्धको ६५ वर्ष प्रवेश भएकोमा खुसी व्यक्त गर्दै मन्त्री खड्काले जलविद्युत् विकास, नवीकरणीय ऊर्जा, प्रसारण प्रणाली आधुनिकीकरण, जलवायु अनुकूलित सिँचाइ, स्वच्छ ऊर्जा, पूर्वाधार र प्रविधि क्षेत्रमा सहकार्यको अपार सम्भावना रहेको बताए।
उनले नेपालको हरित ऊर्जा रूपान्तरण यात्रामा अष्ट्रेलियाली प्रविधि र लगानीलाई स्वागत गर्ने प्रतिबद्धता जनाए।
भेटका क्रममा राजदूत जोनस्टनले मन्त्री खड्कालाई आगामी सेप्टेम्बर ८ देखि १० सम्म फ्रान्सको पेरिसमा आयोजना हुने अन्तर्राष्ट्रिय पम्प स्टोरेज जलविद्युत् सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा गरिन्।
राजदूत जोनस्टनले वातावरणीय सन्तुलन कायम राख्दै जलविद्युत् विकास नेपालका लागि लाभदायी हुनेमा विश्वास व्यक्त गर्दै यस महत्वाकांक्षी योजनामा अष्ट्रेलियाको सहयोग र साझेदारी रहने आश्वासन दिइन्।