
काठमाडौँ- नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित फिल्म ‘रत्यौली’ बन्ने भएको छ। फिल्म मुस्कान ढकालले निर्देशन गर्न लागेका हुन्। शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो।
विवाह संस्कारको विशेष महिलाहरूले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भएर फिल्मको नाम त्यही राखेको निर्देशकले बताएका छन्। फिल्म सांस्कृतिक र पारिवारिक कथामा आधारित हुने उनले जानकारी दिए। यसअघि ढकालले ‘नाई नभन्नु ल ३’, ‘समभर लभ’लगायत फिल्म निर्देशन गरिसकेका छन्।
रञ्जन रिजालको प्रस्तुतिमा निर्माण हुनेछ। उनले यही फिल्मबाट निर्माणमा डेब्यु गर्न लागेका हुन्। २०६२÷६३ सालदेखि म्युजिक भिडियो क्षेत्रमा मोडलका रूपमा सक्रिय छन्। उनले अभिनय गरेको थुप्रै गीत चर्चित छ।
नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको लगानीमा रहनेछ।
आगामी तिहारपछि फिल्म छायांकन सुरू गर्ने टिमको तयारी छ। निर्देशक ढकालकाअनुसार अहिले फिलम छायांकन स्थल र कलाकार छनोट गर्ने विषयमा छलफल चलिरहेको छ।
प्रस्तुतकर्ता रञ्जन रिजालले भने, ‘नेपाली दर्शकहरूले आफ्नो परिवेश, भाषा र मौलिक कथावस्तुमा बनेका फिल्म बढी रुचाउँछन्। त्यसैले हामीले पनि दर्शकको चाहनाअनुसार फिल्म बनाउने छाैँ।’