
पोखरा- गण्डकी प्रदेशमा गत पुसयता ६ सय ९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। वर्षायाम सुरु भएपछि डेंगु संक्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत जेठमा एक सय ६९ जनामा डेंगु संक्रमण देखिएकामा असारलाई लागेपछि हालसम्म एक सय ८५ जनामा उक्त रोगको संक्रमण पुष्टि भएको हो।
प्रदेशमा सबैभन्दा बढी कास्कीमा तीन सय सात, तनहुँमा एक सय एक, लमजुङ ७७, गोरखा ४६, स्याङ्जा २८, बागलुङ १९, पर्वत १७, म्याग्दी १० र नवलपुरमा चार जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हालसम्म मुस्ताङ र मनाङमा भने डेंगुका बिरामी नेभिटएका छैनन्। कास्कीमा डेंगु संक्रमण पुष्टि भएका तीन सय सातमध्ये एक सय तीन जना पोखरा महानगरपालिकाका रहेका छन्। प्रदेशभरमा हालसम्म पुष्टि भएका डेंगुका बिरामीमध्ये झण्डै आधा पोखरा महानगरपालिकामा भेटिएका हुन्।
साउनदेखि कात्तिकसम्म डेंगु संक्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा डेंगु संक्रमणको दर बढ्दै जाने जनाइएको छ। प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले डेंगु संक्रमणको न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि मन्त्रालय मातहतका सबै निकाय तयारी अवस्थामा राखिएको बताए।
गत वर्ष प्रदेश राजनधानी पोखरा डेंगु संक्रमणको ‘हटस्पट’ बनेकाले यसवर्ष डेंगु संक्रमण बढ्न नदिन उच्च सतकर्ता अपनाइएको उनको भनाइ छ।