
काठमाडौँ- कवाड व्यवसायी समाज नेपालले कवाड व्यवसायी र संकलकमाथि काठमाडौँ उपहानगरले गरिरहेको अवरोध रोक्न गृहमन्त्री रमेश लेखक र कानुनमन्त्री अजय चौरसीयाको ध्यानाकर्षण गराएको छ। समाजका अध्यक्ष रामकेवल गुप्तालगायतका प्रतिनिधिहरू शनिबार गृहमन्त्री लेखक र कानुनमन्त्री चौरसीयालाई संयुक्त ज्ञापनपत्र बुझाउँदै महानगरले गरिरहेको ज्यादती रोक्न माग गरेका हुन्।
‘कवाड व्यवसायी र संकलकमाथि भइरहेको महानगरको गुन्डागर्दी तथा ज्यादतीलाई तत्काल रोक्न लगाई व्यवसायीको जिउधनको रक्षाका लागि हामी कवाड व्यवसायी गृहमन्त्रीज्यूसमक्ष अनुरोध गर्दछौँ,’ उनीहरूले गृहमन्त्री लेखकलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ।
काठमाडौँ महानगरपालिकाले विगत दुई वर्षदेखि आफ्नो प्रहरी परिचालन गरेर ‘गुण्डागर्दी’ शैलीमा कवाड व्यवसायी, संकलक मजदुरमाथि कुटपिट, ‘अपहरण’ गर्नुका साथै कवडा व्यवसायीको संरचनाहरू भत्काउने तथा मजदुरको साइकललगायतका सामान जफत गर्ने गरेको उनीहरूले आरोप लगाएका छन्।
महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलकहरू अङ्गभङ्ग भएको बताउँदै समाजले मेयर बालेन्द्र शाह काठमाडौँबाट गरिब जनतालाई हटाउन खोजेको आरोप लगाएका छन्। नेपाल सरकारको प्रचलित कानुनबमोजिम दर्ता भएर व्यवसाय सञ्चालन गर्दै आइरहेको उल्लेख गर्दै उनीहरूले सरकारलाई तिर्नुपर्ने राजस्वसमेत तिर्दै आएको जिकिर गरेका छन्।
स्टील बियर तथा मदिराजन्य उद्योग, कागज, प्लास्टिकलगायतका उद्योगलाई आफूहरूले कच्चा पदार्थ उपलब्ध गराई देशको व्यापार घाटा कम गर्न कवाड व्यवसायको ठूलो भूमिका रहेको समाजले उल्लेख गरेको छ। हाल यो व्यवसायमा एक लाख मानि प्रत्यक्ष रोजगारमा आबद्ध रहेको जिकिर गर्दै उनीहरूले वातावरणीय सरसफाईमा समेत कवाड व्यवसायले योगदान पु¥याइरहेको उल्लेख गरेका छन्।