 
                            
                                            काठमाडौँ- वामदेव गौतमले नेतृत्व गरेको नेकपा एकता राष्ट्रिय अभियान गत शुक्रबार माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा समाहित भयो। वाम दलहरूलाई एकै ठाउँमा राख्ने अभियानमा हिँडेको बताउने वामदेवले यसअघि पनि धेरैपटक एकताका कुरा गरेका थिए। कहिले नेकपा (एमाले) त कहिले एकीकृत समाजवादीसँग।
लामो समयसम्म चलेको चर्चा र अनिश्चिततालाई चिर्दै अन्ततः यसपटक वामदेव एकीकृत समाजवादीमा प्रवेश गरे। हुनत उनको पहिलो प्राथमिकता एमाले नै थियो। तर त्यहाँ ‘स्पेस’ पाउने न्यून सम्भावनालाई विश्लेषण गरेका उनी एकीकृत समाजवादी नै रोजे। धेरै अघिदेखि एकीकरणको प्रयास गरिरहेकाले पनि वामदेवको एकीकृत समाजवादीमा समाहित हुने विषय खासै नौलो भएन।
उनलाई एकीकृत समाजवादीमा माधव नेपाल र झलनाथ खनालपछिको वरीयतामा राख्ने र वरिष्ठ नेताको पद दिने सहमति छ। समाजवादी स्रोतका अनुसार वामदेव पक्षका १० जनालाई केन्द्रीय कमिटीमा लैजाने सहमति पनि गरिएको छ।
यसअघि पनि बारम्बार समाजवादी प्रवेश गर्ने भन्दै आलोकनगर (समाजवादीको पार्टी कार्यालय) मा दौडधुप गरिसकेका वामदेव रोकिएका थिए। कहिले पद नपाएको त कहिले एमालेले बोलाएको नाममा समाजवादीलाई वामदेवले ‘धोका’ दिइरहे।
यसपटक भने लामो संवादबिनै वामदेव एकीकृत समाजवादीमा प्रवेश गरे। वामदेवको एकीकृत समाजवादी प्रवेश यसपटक यतिसम्म गोप्य राखियो कि त्यही पार्टीमा रहेका उनीनिकट हरि पराजुलीले समेत थाहा पाएनन्। समाजवादी नेता ताज मोहम्मद मियाँका अनुसार वामदेवकै निवासमा पुगेर भएका केही संवादहरूबाट एकीकरणको सहमति जुटेको थियो। ‘एकपटक अध्यक्ष कमरेड (माधव नेपाल) सँग कुरा गरियो। धेरै हल्ला गरिएन,’ मिँया भन्छन्।
वामदेवको एकीकृत समाजवादी प्रवेशलाई गोप्य राखिनुको पनि विभिन्न कारण छन्। पटकपटक वामदेवसँग गरिएका संवाद अन्तिम समयमा भाँडिएका थिए। यसअघि समाजवादी प्रवेशको मिति पनि उनले एमालेतिर लम्किने हुँदा टुटेको थियो। अर्को कारण, यसपटक समाजवादीलाई वामदेव र वामदेवलाई समाजवादी एकैपटक खाँचो पर्यो।
नेताहरूका अनुसार वामदेवको राष्ट्रियसभा सदस्य पद आगामी फागुनमा जाँदैछ। पार्टीगत हिसाबमा गतिविधि अगाडि बढाउन नसकिरहेका वामदेव त्यसपछि संसदीय पदविहीन बन्ने पक्का थियो। तत्कालीन नेकपामा रहँदा पति–पत्नी नै संसद्को लोगो लगाउन भ्याएका उनी निकट भविष्यमै राष्ट्रियसभाबाट बिदा भएर सांसद पद गुमाउने पक्का थियो।
इच्छाविपरीत नै किन नहोस्, वामदेव त्यसैकारण समाजवादी प्रवेश गर्न राजी भए। अर्को कुरा, यसपटक समाजवादीलाई पनि वामदेव चाहिएका थिए। समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पतञ्जली जग्गा प्रकरणमा मुद्दा खेपिरहेका छन्। प्रधानमन्त्री रहँदा पतञ्जलीलाई कानुनविपरीत जग्गा उपलब्ध गराएको आरोपमा उनीविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
उनी ३५ लाख रुपैयाँ धरौटीमा रिहा भए पनि मद्दा विचाराधीन अवस्थामा छ। पतञ्जली जग्गा प्रकरणमा कानुनी झमेलामा फसेका नेपाल पार्टीभित्र समेत घेराबन्दीमा परेका छन्। अध्यक्ष पदबाट राजीनामा दिन पार्टीभित्र नेपालमाथि चर्को दबाब छ। मुद्दा लागेसँगै नेपालको सांसद पद निलम्बनमा परेको छ। उनको निलम्बनपछि एकीकृत समाजवादीले संसदभित्र दलको नेतासमेत गुमाएको छ।
उनले राजीनामा दिनुपर्ने अडानसहितको अभिव्यक्ति नेतृ रामकुमार झाँक्रीले राख्दा स्पष्टीकरणको भागीदार बन्नु परेको छ। यति मात्र होइन, समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले पनि नेपालमाथि राजीनामा दिनुपर्ने दबाब बढाएका छन्।
सम्मानित नेता खनालले सोझै न भने पनि सचिवालय बैठकमा घुमाउरो शैलीमा नेपालको राजीनामा मागेका थिए। खनालले नैतिकताको कुरा उठाउँदै वर्तमान अवस्थाबाट पार्टी चलाउन नसकिने आशय व्यक्त गरेका थिए। घुमाउरो शैलीामा अध्यक्ष नेपालको राजीनामा मागेर खनाल चीन प्रस्थान गरे। नेपाल निकट स्रोतका अनुसार अहिले खनाल–भुसाल नेपालविरुद्ध उभिएका छन्। दुवै नेताले पतञ्जली प्रकरणलाई देखाएर अध्यक्ष नेपाललाई घेराबन्दीमा पार्न खोजिरहेका छन्।
भुसालले समेत नेपालको राजीनामा खोजेका छन्। यता वामदेव भने अध्यक्ष नेपालको पक्षमा उभिएका छन्। अदालतमा प्रवेश गरेको विषयलाई उठान गर्नु हुन्न भन्ने गौतमको भनाइ छ।
‘अब वामदेवजी अध्यक्ष कमरेडकै पक्षमा उभिनुहुन्छ,’ नेपालनिकट एक नेता भन्छन्, ‘अब पनि खनाल–भुसालले राजीनामाको कुरा उठाउनु भयो भने वामदेवले त्यसको प्रतिवाद गर्ने एकखाले तयारी गरिएको छ।’ ती नेताका अनुसार खनाललाई ‘साइज’ मा राख्नकै लागि वामदेवलाई हत्तपत्त समाजवादीमा ल्याएको हो।
वामदेव र झलनाथको ‘सैद्धान्तिक धरातल’ नै फरक
वामदेव पटकपटक समाजवादी प्रवेशमा रोकिनुको कारण हो, उनी जनताको बहुदलीय जनवाद (जबज) का पक्षधर। मदन भण्डारीले प्रतिपादन गरेको जबजलाई सिद्धान्त बनाउन आफूले नेतृत्व गरेको दाबी वामदेवको छ।
वामदेवले एमाले प्रवेश चाहनुको कारण पनि जबजको पक्षधरता नै हो। यता समाजवादीमा भने मार्गदर्शक सिद्धान्तका रूपमा जबज छैन। समाजवादीका सम्मानित नेता खनाल जबजको कट्टरविरोधी हुन्। कुनै बेला खनाल ‘दक्ष प्रजापतिको टाउको’ भएको आरोप लगाउँथे।
यता नेपाल सैद्धान्तिक तरिकाले वामदेवसँग मिल्दाजुल्दा छन्। जबजले समाजवादीमा वामदेव–झलनाथ बढाउँदा नेपाललाई फाइदा पुग्ने अनुमान छ।
‘यसअघिको कार्यक्रममै गौतम–खनाल टकरावको संकेत देखिएको छ। अब झनै बढ्ने सम्भावना छ,’ ती नेता भन्छन्। पछिल्लो समय समाजवादी खनाल–भुसाल पक्षधर नेताहरू नेपाललाई ‘काउन्टर’ दिने लाइनमा छन्।
जनसंगठनमा पनि नेपालको पेलानमा परेको भन्दै खनाल–भुसाल पक्षधर असन्तुष्ट छन्। विशेषतः विद्यार्थी संगठनमा इतरपक्षधरले समानान्तर कमिटी गठन गरेका छन्। भ्रष्टाचार मुद्दा लागेपछि नैतिक दबाब खेपिरहेका नेपाललाई वामदेवको आगमनले राहत मिल्ने नेताहरूको बुझाइ छ।
गौतम अध्यक्षलाई कमजोर बनाएर पार्टी चल्न नसक्ने बताउने गरेका छन्। समाजवादीका महासचिव घनश्याम भुसाल भने वाम एकताका लागि गौतमसँग पार्टी एकता भएको बताउँछन्। वृहत् वाम एकताको उद्देश्यका साथ वामदेव समाजवादीमा भित्रिएको भुसालको दाबी छ।


 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 