२५ वर्षपछि किन खेलिन् रेखाले म्युजिक भिडियो?

हिमाल प्रेस ६ साउन २०८२ ११:२२ | Tuesday, July 22, 2025
२५ वर्षपछि किन खेलिन् रेखाले म्युजिक भिडियो?

काठमाडौँ- अभिनेत्री रेखा थापाले फिल्म बाहेक अन्यत्र कमै देखिन्छिन्। उनका थुप्रै समकालीन तथा अनुज अभिनेत्रीहरूले फिल्मको सीमाभित्र मात्र रहन सकेका थिएनन्। फिल्ममा काम नपाउँदा उनीहरू म्युजिक भिडियोतिर पनि रमाइरहेको देखिन्छ।
तर अभिनेत्री थापाले भने करिब २५ वर्ष लामो करियरमा हालसम्म एउटामात्र म्यूजिक भिडियो खेलेकी छिन्।

उनले त्यो म्युजिक भिडियो आफ्नो करियरमा संघर्षरत हुँदा खेलेकी हुन्।

उनकाे पहिलाे म्युजिक भिडियो गायक आनन्द कार्कीको चर्चित गीत ‘लाग्छ मन हेरिरहुँ’ हो। त्यसपछिका वर्षहरूमा फिल्मसरह पारिश्रमिकको प्रस्ताव आए पनि कुनै म्यूजिक भिडियो नखेलेकी रेखा अब दोस्रो म्युजिक भिडियोमा देखिन लागेकी छिन्।

उनको दोस्रो म्युजिक भिडियो साउन १६ मा सार्वजनिक हुँदैछ। उनले प्रकाश सपुतको संगीत तथा निर्देशनमा बनेको ‘नाइँ भनेसी नाइँ’ बोलको म्युजिक भिडियोमा अभिनय गरेकी छन्।  प्रकाशले ‘बदला बरिलै’ काे दाेस्राे भागकाे रूपमा याे गीत ल्याउँदै छन्। गीत तीज लक्षित छ।

रेखाले यो म्युजिक भिडियो किन खेलिन् त?

रेखाले प्रकाश सपुतले तीज लक्षित गीतको विषयवस्तु भएकोले आफू म्युजिक भिडियोमा देखिन तयार भएको बताएकी छन्।

‘नाइँ भनेसी नाइँ’ बोलको गीतले एउटी बालिका, युवती, महिला र समस्त आमाहरूको आत्मसम्मानको विषय उठाएकोले म यो गीत गर्न तयार भएकी हुँ’, रेखाले भनिन्, ‘विगतमा पनि म समस्त छोरीहरूको सवालमा, उनीहरूको पक्षमा सधैं लागिरहेकी छु। यतिबेला म नारी मात्र नभएर एउटी छोरीकी आमासमेत भएकाले यो विषयलाई मैले नाइँ होइन हुन्छ भन्नुपर्छ भनेर खेले।’

गायक हुँदै फिल्मका निर्माता, लेखक तथा निर्देशकसमेत बनिसकेका प्रकाश सपुतले गीतको कन्सेप्ट तयार हुँदा नै रेखा थापालाई सोचेर बनाएको बताए।

रेखाले म्यूजिक भिडियो नगर्ने सुने पनि विषयवस्तुका कारण थापाले स्वीकार्नेमा आफू विश्वस्त रहेकाेले प्रस्ताव गरेको प्रकाशको भनाइ छ।

‘दिदीलाई जुन विषय छानिएको छ, त्यसले धेरै छोयो। उहाँसँग जब मैले विषयको कुरा गरें, तब उहाँले यसमा फिल्म बनाउन सकिंदैन भनेर सोध्नुभएको थियो’, प्रकाशले भने, ‘अहिले फिल्म बनाउनचाहिँ अलि तयारी छैन। भिडियोमार्फत भनौं, अझ धेरै ठाउँमा पुग्छ भनेपछि दिदी खेल्न तयार हुनुभयो।’

गीतमा एलिना चौहान तथा समीक्षा अधिकारीले स्वर दिएका छन्। गीत दर्शक/श्रोताले मन पराउनेमा विश्वस्त रहेकाे प्रकाशले बताए।

प्रकाशित: ६ साउन २०८२ ११:२२ | Tuesday, July 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast