
सिरियाको स्वेइदा क्षेत्रको अवस्था धेरै हदसम्म नियन्त्रणमा देखिएको छ। दक्षिणी सिरियाको स्वेइदा आसपास जम्मा भएका कबायली लडाकुहरूलाई सेनाले त्यहाँबाट हटाइसकेको ब्रिटेनस्थित संस्था ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ ले जनाएको छ। यी कबायली लडाकुहरू बदुनी सुन्नी लडाकुलाई समर्थन गर्न देशका विभिन्न भागबाट स्वेइदा आएका थिए।
१३ जुलाईमा दक्षिणी सिरियामा बदुनी र द्रुजे समुदायबीच झडप भएको थियो। सञ्चारमाध्यमका अनुसार स्वेइदा र राजधानी दमास्कसलाई जोड्ने एउटा राजमार्गमा भएको डकैतीको घटनापछि सुरु भएको यो झडप चाँडै धार्मिक द्वन्द्वमा परिणत भएको थियो। एक साता लामो संघर्षमा झण्डै एक हजारजनाको ज्यान गएको छ।
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार द्रुजे अल्पसंख्यकहरूको बाहुल्य रहेको स्वेइदामा भएको यो संघर्षमा चार सउ ६ स्थानीय बासिन्दा र तीन सय ३० जना सैनिक मारिएका छन्। मारिएकामध्ये २६ महिला र ६ बालबालिका छन्। सिरियाली सेनामाथि उनीहरूलाई गोली हानेको आरोप लगाइएको छ। उता द्रुजे सशस्त्र समूहहरूलाई तीनजना बदुनीहरूको हत्या गरेको आरोप लागेको छ। संघर्षका क्रममा स्वेइदामा महिलामाथि बलात्कारजस्ता गम्भीर अपराध पनि भएका तथ्य सार्वजनिक भएका छन्।
स्वेइदा इतिहासमै प्रायः स्वायत्त क्षेत्रका रूपमा रहँदै आएको छ। सन् २०२४ को डिसेम्बरमा तत्कालीन राष्ट्रपति बसर अल-असद रुसतर्फ भागेपछि द्रुजे अल्पसंख्यकहरूको केन्द्र मानिने स्वेइदाको अवस्था नाजुक बनेको हो।
द्रुजे अल्पसंख्यक को हुन्?
द्रुजे सिया इस्लामबाट उत्पन्न एक छुट्टै धार्मिक सम्प्रदाय हो। इतिहासकारहरूका अनुसार १०औँ–११औँ शताब्दीको आसपास आफ्ना विशिष्ट परम्परा, विश्वास र रीतिरिवाजसहित यो समुदाय इस्लामको मूलधारबाट अलग भएको थियो।
द्रुजे धर्ममा ‘सत्य’ र ‘सत्यको खोजी’ लाई अत्यन्त महत्त्व दिइन्छ। यो पन्थले अरूको हेरचाह गर्न, सहअस्तित्वमा बस्न र गलत विश्वास तथा अन्धविश्वास त्याग्न जोड दिन्छ। द्रुजहरू निश्चित समयमा प्रार्थना गर्दैनन्, मक्काको तीर्थयात्रा (हज) गर्दैनन् र रमजान महिनामा अनिवार्य रूपमा रोजा पनि राख्दैनन्।
हाल विश्वभर १० लाख द्रुजे सम्प्रदाय रहेको अनुमान छ। तीमध्ये सबैभन्दा ठूलो संख्या दक्षिणी सिरियामा बसोबास गर्छन्। सिरियासँगै द्रुजेहरू इजरायल, जोर्डन र लेबनानमा पनि बसोबास गर्छन्।
बुधबार इजरायली सेनाले सिरियाली राजधानी दमास्कसमा हवाई आक्रमण गरेको थियो। आक्रमणमा सिरियाको रक्षा मन्त्रालय र सैनिक मुख्यालयलाई निसाना बनाइएको थियो। इजरायलले द्रुजे समुदायलाई खुलेर समर्थन गर्छ र उनीहरूलाई आफ्नो ‘साझेदार’ भनी सम्बोधन गर्छ। द्रुजे समुदायका व्यक्तिहरूले स्वेच्छाले इजरायली सेनामा सेवा गर्ने परम्परा छ।
सिरियाको धार्मिक विविधतामाथि अविश्वासको प्रहार
सिरियामा पूर्वराष्ट्रपति बसर अल-असदविरुद्ध १४ वर्षसम्म चलेको गृहयुद्धका क्रममा द्रुजे समुदायले पनि उनको विरोध गरेको थियो। सन् २०२४ को डिसेम्बरमा असदको शासन ढलेपछि देशको बागडोर पहिलेका विद्रोही सुन्नी नेता अहमद अल सराको हातमा गयो।
द्रुजे समुदायले अल सराको सेनामाथि फरक धार्मिक दृष्टिकोण राख्ने समुदायहरूमाथि दमन अभियान चलाएको आरोप लगाएको छ। मार्चमा सिरियाली सेनामाथि अलावी समुदायको सामूहिक नरसंहार (जनसंहार) गरेको आरोप पनि लागेको थियो।
शनिबार सिरियाली सरकारले स्वेइदा क्षेत्रमा ठूलो सैन्य समूह पठाएको थियो। यसअघि राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति अहमद अल सराले आफू सिरियाको जातीय र धार्मिक विविधता रक्षाका लागि प्रतिबद्ध रहेको बताएका थिए। उनले हिंसा गर्ने जोकोहीलाई न्यायको कठघरामा ल्याइने घोषणा गरेका थिए।
राष्ट्रपति सराले देशमा जातीय र धार्मिक विविधताको रक्षा गर्ने घोषणा गरे पनि शनिबार बेलुकीसम्म सीरियाका विभिन्न क्षेत्रहरूबाट बदुनी लडाकुहरू स्वेइदातर्फ अघि बढिरहे। केही शक्तिशाली कबिला पनि बदुनी समुदायको समर्थनमा खुलेर आएका छन्। द्रुजे समुदायविरुद्ध द्वेषपूर्ण उत्तेजना फैलाउँदै एक कबिलाई कमान्डर अबु जासेमले भनेका थिए, ‘अगाडि बढ, कबिलाहरू! हामी उनीहरूकै घरभित्र पसेर मार्नेछौँ।’
अमेरिका र इजरायलको दबाबबीच आइतबार बिहानदेखि स्वेइदाको स्थिति केही हदसम्म नियन्त्रणमा आएको देखिएको हो। १४ वर्ष लामो गृहयुद्धले तहसनहस पारेको देशमा यो शान्ति कति समय टिक्नेछ भन्नेमा शंका कायमै छ। एपीको सहयोगमा