एकै दिन ३५ सयभन्दा बढीले चढे धरहरा

हिमाल प्रेस ४ साउन २०८२ १७:१९
10
SHARES
एकै दिन ३५ सयभन्दा बढीले चढे धरहरा

काठमाडौँ- काठमाडौँको पर्यटकीय स्थल धरहरा शनिबार ३ हजार ५ सय ७ जनाले अवलोकन गरेका छन्। साउन १ बाट धरहरा खुल्ने समय बढेपछि धरहरा चढ्नेको संख्या पनि बढेको छ। साउन १ गते २५ सय जनाले, २ गते २ हजार ६ सय ३१ र ३ गते ३ हजार ५ सय ७ जनाले अवलोकन गरेको धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए। साउन १ देखि ३ गतेसम्म १५ लाख ५६ हजार ६ सय ५० रुपैयाँ  राजस्व संकलन भएको छ।

धरहरा खुल्ने समय थप भएपछि अवलोकनका लागि आउनेहरुको संख्या दोब्बर बढेको छ। साउन १ गतेबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला गरिएको छ।

‘बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म टिकट खुल्छ। बिहान साढे ८ देखि बेलुकी ९८ बजेसम्म अहिले सेवाग्राहीले धरहरा चढिरहनुभएको छ,’ एकाइ प्रमुख राईले भने, ‘समय थप हुँदा निक्कै राम्रो भएको छ। धरहरा हेर्न आउनेहरुको संख्या विगतमा भन्दा दोब्बरभन्दा धेरैले वृद्धि भएको छ।’

पहिला धरहरा दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिएकोमा अहिले समय थप गरिएको हो। पहिला दैनिक करिब १२ सयले धरहरा अवलोकन गर्ने गरेकोमा पछिल्लो तीन दिनमा ८ हजार ६ सय ३८ जनाले अवलोकन गरेका छन्।

धरहरा अवलोकनका क्रममा भेटिएकी धादिङकी कल्पना तामाङले धरहरा चढ्दा दिउँसो भन्दा बेलुका रमाइलो लागेको बताइन्। ‘बेलुकाको काठमाडौँको झिलिमिली दृश्य धरहराबाट हेर्दा एकदमै मनमोहक देखिँदो रहेछ,’ उनले अनुभव सुनाइन्। २०८१ मंसिर देखि २०८२ असार मसान्तसम्म धरहरा चढ्नेहरूबाट ५ करोड १२ लाख ६२ हजार ९ सय ९५ रुपैयाँ  राजस्व संकलन भएको छ।

प्रकाशित: ४ साउन २०८२ १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast