प्रचण्ड र विद्यासँग भेट गरेपछि शेखरले किन डाके भेला?

हिमाल प्रेस ४ साउन २०८२ १५:४७
58
SHARES
प्रचण्ड र विद्यासँग भेट गरेपछि शेखरले किन डाके भेला? नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आइतबार आफू पक्षीय सांसदहरूको भेला आयोजाना गरेका छन्। काठमाडौँको होटल याक एन्ड यतीमा भेला आयोजना गरिएको हो। भेलाको उद्देश्यबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन। एक नेताका अनुसार बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको छ।

‘राजनीति र पार्टी हितका विषयमा छलफल भइरहेको छ’, ती नेताले भने। शेखर पक्षधर सांसदहरुको भेलामा महामन्त्री गगनकुमार थापा सहभागी छैनन्।

नेता कोइरालाले पछिल्लो समय पार्टीबाहिरका नेताहरूसँग पनि छलफल गरेका छन्। यस क्रममा उनले पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका थिए।
गठबन्धन सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका अन्य नेताहरू पनि सन्तुष्ट हुन सकेका छैनन्।

नेता कोइरालाले कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिअनुसार सरकार अगाडि बढ्न नसकेको अभिव्यक्ति हालै सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकमा दिएका थिए। भ्रष्टाचार बढेको, बेथिति निम्तिएको, नागरिकले सुशासनको अनुभूति गर्न नपाएको गुनासाहरू कोइरालाले पोखेका थिए। बलियो सरकार भए पनि नागरिकले सुशासनको अनुभूति गर्न नपाएकोमा कोइरालामा चिन्ता देखिएको छ।

सरकारको कामकारबाहीबाट असन्तुष्ट बनिरहेका कोइराला पछिल्लो समय मन्त्रीहरूको घुस ‘डिल’ सम्बन्धी अडियो बाहिरिएपछि थप चिढिएका छन्। भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी र सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस लेनदेनको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए। गुप्ताले राजीनामा दिए पनि मन्त्री अधिकारी पदमै छन्।

ओली सरकारको यस्ता कामकारबाहीलाई लिएर चिढिएका नेता कोइराला सुशासन कायम गर्ने अभियानमा सक्रिय भएका छन्। दलभित्रै आवाज उठाइरहेका उनले अन्य दलका नेताहरूसँग भेटेर आफ्नो अभियानमा समर्थन जुटाउन खोजेको उनी निकट नेताहरू बताउँछन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बिहीबार भेटेका कोइरालाले शुक्रबार पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भेटेका थिए। भंगालस्थित भण्डारी निवास पुगेर उनले झन्डै पौने दुई घन्टा छलफल गरेका थिए।

कतिपयले शेखरको सक्रियतालाई सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चा निर्माण भयरहेको दाबी गरेका छन्। शेखरले अहिलेको सरकारको विकल्प खोज्नेगरि सक्रियता बढाएको चर्चा छ। यही सन्दर्भमा आज आफू पक्षधर सांसदहरुको भेला बोलाएका हुन्।

प्रकाशित: ४ साउन २०८२ १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast