
काठमाडौँ- अन्तरजातीय प्रेम कथामा आधारित फिल्म ‘जदौ’ निर्माण हुने भएको छ। फिल्म काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्न लागेको हो।
अन्धविश्वास र कुरीतिबीच नेपाली समाजमा देखिने घटनाक्रम र विषयवस्तुलाई समेटेर मनोरञ्जनात्मक शैलीमा ‘जदौ’ बनाउन लागेको निर्देशक लिम्बूले बताए।
फिल्ममा हामीले अन्तरजातीय प्रेम र उनीहरूको दाम्पत्य जीवनको संघर्षदेखाउने छौँ। तपाईं–हामीले समाजमा देख्ने घटनाक्रमलाई नै पटकथामा तयार गरेका छौँ। फिल्मले मनोरञ्जनात्मकसहित विभेद गर्नुहुँदैन भन्ने सन्देश दिन्छ,’ उनले भने।
फिल्ममा मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, ऋचा शर्मा, अनिल सुब्बालगायतका कलाकारले अभिनय रहनेछ।
फिल्मको विषयवस्तुले आकर्षण गरेकोले काम गर्न इच्छुक भएको अभिनेता भुसालले बताए। ‘हामी कलाकारले फरक फिल्मसँगै विषय र पात्रको भिन्नता खोज्ने गर्छौं। यसमा मैले फरक मात्र नभई चुनौतीपूर्ण भूमिका पाएको छु। त्यसकारण म फिल्ममा जोडिएको हुँ,’ उनले भने।
फिल्म आगामी भदौको पहिलो सातादेखि छायांकन सुरू गरिनेछ। फिल्म पश्चिम नेपालस्थित दाङ र प्यूठानका विभिन्न स्थानमा छायांकन गरिनेछ।
श्याम तामाङले छायांकन गर्ने तयारी रहेको फिल्म मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, बाबुल गिरी र सरोज पोखरेलले संगीत, चिरञ्जीवी भण्डारीको कला निर्देशनमा बन्नेछ।