
काठमाडौँ- नेपालमा पहिलोपटक दुई प्रमुख डिजिटल वालेट आईएमई पे र खल्ती मर्ज भएर ‘खल्ती बाई आईएमई’ नामबाट बिहीबारदेखि एकीकृत कारोबारको औपचारिक सुरुवात भएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आयोजित कार्यक्रममा यो घोषणा गरिएको हो।
झन्डै एक दशकदेखि आ–आफ्नो क्षेत्रका पहिचान बनेका यी दुई वालेटहरू–आईएमई पे, जुन ब्याज दिने एकमात्र वालेटको रुपमा प्रख्यात थियो र खल्ती, जुन सिनेमा बुकिङ, इभेन्ट टिकेटिङ र इनोभेसनमार्फत युवामाझ लोकप्रिय थियो– अब मर्ज भई एक नयाँ वालेट ‘खल्ती बाई आईएमई’ का रुपमा आउने भएका छन्।
एकीकरणपछि प्रयोगकर्ताले दुवै वालेटका उत्कृष्ट सुविधाहरू अझ सहज, सुरक्षित र परिष्कृत रुपमा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। आईएमई पे आईएमई ग्रुपमार्फत सञ्चालनमा थियो भने खल्ती सह–संस्थापकहरूद्वारा सुरु गरिएपछि वल्र्डलिंक, त्रिवेणी ग्रुपजस्ता कर्पोरेट संस्थाहरूको लगानी भित्रिएको थियो।
नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ नाममा दर्ता गरिएको र मोबाइल एप ‘खल्ती बाई आईएमई’ का रुपमा सञ्चालन हुने जनाइएको छ।
साबिक आईएमई पे प्रयोगकर्ताहरूले नयाँ एपमा जान सक्ने सुविधा सार्वजनिक भइसकेको र उनीहरूको रकम, ब्याज, रिवार्ड प्वाइन्ट र सबै विवरण नयाँ एपमा स्थानान्तरण हुने कम्पनीले जनाएको छ। खल्ती प्रयोगकर्ताले एप अपडेट गरेर नयाँ सुविधा लिन सक्नेछन्।
कार्यक्रममा बोल्दै डेपुटी गनर्भर मिश्रले डिजिटल भुक्तानीले वित्तीय पारदर्शिता बढाउने भएकाले सबै क्षेत्रमा यसको विस्तार जरुरी भएको बताए।
आईएमई पेका अध्यक्ष कृष्णप्रसाद शर्माले यो एकीकरणले ‘डिजिटल नेपालको सम्भावनालाई नयाँ गति दिने’ उल्लेख गरे।
त्यस्तै खल्तीका अध्यक्ष मनोजकुमार अग्रवालले यसलाई दीर्घकालीन समृद्धिका लागि ऐतिहासिक कदम भने।
नयाँ कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता र समावेशीकरणका लागि थप योजनाहरू बनाउने प्रतिबद्धता व्यक्त गरे।
हाल खल्तीमा ७० लाख र आईएमई पेमा ५७ लाखभन्दा बढी प्रयोगकर्ता रहेका छन्।