प्रचण्ड र शेखरबीच भेटवार्ता, सरकारको कामकारबाहीका विषयमा छलफल

हिमाल प्रेस १ साउन २०८२ १९:२०
68
SHARES
प्रचण्ड र शेखरबीच भेटवार्ता, सरकारको कामकारबाहीका विषयमा छलफल

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ। बिहीबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भएको हो।

भेटका क्रममा दुवै नेताबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ। उनका स्वकीय सचिव गोविन्द आचार्यले दुवै नेताबीच समसामयिक राजनीति र सरकारको कामकारबाहीका विषयमा छलफल भएको बताए।

उनका अनुसार सरकारले जनभावनाअनुसार काम गर्न नसकेको दुवै नेताको निष्कर्ष रहेको छ।

‘सरकारले जनभावनाअनुसार काम गर्न सकेको छैन। एक वर्षको अवधिमा सरकारले विकृति फैलाउने काम गरेको भनेर दुवै नेताले चिन्ता व्यक्त गर्नु भएको छ,’ आचार्यले हिमालप्रेससँग भने,‘सरकारले राम्रो काम गर्न नसकेको दुवै जनाको निष्कर्ष रहेको छ।’

सरकारले जनतामा आशा बढाउनेभन्दा निराशा बढाउने काम गरेको दुवै नेताको ठहर रहेको उनको भनाइ छ।

‘सरकारले राम्रो काम गर्न सकेन, आशाभन्दा निराशा बढाउने काम गरेको छ,’ आचार्यले भने,‘भ्रष्टाचार र बेथिति बढाउने काम भएको छ, सरकारका धेरै निर्णयमा समस्या देखिएको उहाँहरूको ठम्याई रह्यो। यस विषयमा आ–आफ्नो ठाउँमा रहेर आवाज उठाउँदै जाने सहमति बनेको छ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस नेता कोइरालाबीच डेढ घण्टा बढी छलफल भएको थियो।

प्रकाशित: १ साउन २०८२ १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast