वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

हिमाल प्रेस ३२ असार २०८२ ७:३९
4
SHARES
वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

पाल्पा- वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका छन्। खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन्।

टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको रैनादेवी छहरा गाउँपालिका सत्यवतीकी गीता घर्तीले बताए। यहाँका प्रायजसोले बारीभरी टिमुर लगाएको उनले बताए।

‘यहाँका सबैजसो किसानले बारी र बाँझो जमिनमा टिमुर लगाएका छन्, वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प टिमुरखेती बनेको छ’, घर्तीले भने। टिमुरबाट आम्दानीसमेत राम्रो हुँदै आएको उनको भनाइ छ।

पहिले मकैखेती लगाउँदै आउनुभएकी घर्तीले अहिले बारीमा ५० बोट टिमुरका बिरुवा लगाएको छ। दिनहुँजसो वन्यजन्तु आउने ठाउँमा अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही नरहने भएपछि टिमुुरखेती गर्न थालेको उनी बताउँछन्।

उनले भने, ‘हरेक वर्ष बारीमा मकै लगायो बाँदर र बदेलले खाएर सखाप पारिदिन्छन् । मेहिनत गरेर लगाएको बाली भित्र्याउने बेलामा आएर वन्यजन्तुले खाइदिएपछि विकल्पको रुपमा टिमुर लगाइदिएकी हुँ’, टिमुरबाट राम्रो आम्दानीसमेत हुने घर्तीको भनाइ छ। उहाँ मात्र हैन यहाँका अधिकांश किसान अन्नबाली छाडेर टिमुरखेतीमा लागेका छन्।

यहाँका सत्यवती, जुठापौवा, बल्डेङ्गगढी, छहरा, रिब्दीकोटको देउराली, पालुङमैनादी, कुसुमखोला, फेकका गाउँमा अन्नबाली वन्यजन्तुले सखापै बनाउन लागेपछि किसानले वनबालीअन्तर्गत टिमुरको व्यावसायिक खेती गर्न थालेका हुन्।

रिब्दीकोट गाउँपालिका ठिमुरे ढुस्टुङका वुद्धबहादुर राना पहिला–पहिला बारीका काल्नामा टिमुर लगाउँदा सबै हाँस्थे।

जब टिमुर आम्दानीको बलियो माध्यम बन्यो, त्यसपछि भने बारी ढाक्ने गरी सबैले टिमुर लगाउन थालेको उहाँ बताउँछन्। बारीको छेउ, ढिक, खोरिया तथा वनमा लगाइएको टिमुरखेतीले जिल्लाका दुई हजारभन्दा बढी किसानलाई फाइदा पुगेको छ।

असारको अन्तिम सातादेखि असोज–कात्तिक महिनासम्म टिमुर बिक्री गरेर यहाँका किसानले वार्षिक एक लाखदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेका छन्। टिमुरबाट वार्षिक दुई लाख आम्दानी गरेको रिब्दीकोट–६, ठिमुरेका किसान शिवबहादुर जिसीले बताए।

पछिल्लो समय अर्गानिक र औषधिजन्य जडीबुटीको प्रयोगकर्ता बढेका कारण सहरी क्षेत्रमा टिमुरको माग अत्यधिक छ।

बजारमा अचार बनाउन, तरकारी पकाउँदा तथा मसला बनाउन र औषधि बनाउन टिमुरको प्रयोग हुँदै आएको छ । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बस्ने मानिसहरूले टिमुरको प्रयोग बढाएकाले टिमुरले राम्रो मूल्य पाएको किसानको भनाइ छ।

अग्लो र ओसिलो स्थानमा यसको खेती गर्न सकिने भएकाले पाल्पाको अधिकांश स्थानमा टिमुरको खेती गर्न सकिने किसानको भनाइ छ । बाँदरले अन्य खेतीमा आक्रमण गरिरहेका बेला टिमुरखेती किसानका लागि फाइदाजनक र सुरक्षित भएको डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताए।

उनले भने, ‘अन्य खेतीमा बाँदरको आक्रमण हुन्छ तर टिमुर खेतीबाट किसानलाई सुरक्षित र दीर्घकालीन फाइदा हुन्छ।’

एकपटक टिमुरको बोट हुर्काएपछि वर्षौसम्म फाइदा लिन सकिने भट्टराईको भनाइ छ। टिमुरको पकेट क्षेत्र बनाउन कार्यालयबाट बिरुवासमेत वितरण गर्ने गरेको उनले बताए। जिल्लाका पूर्वखोला र निस्दी गाउँपालिकाका विभिन्न स्थानमा टिमुरखेती हुने गरेको उनको भनाइ छ।

प्रकाशित: ३२ असार २०८२ ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast