नार्पाभूमिको मतपेटिका हेलिकप्टरमार्फत ल्याइने

हिमाल प्रेस ५ मंसिर २०७९ ९:१९ | Monday, November 21, 2022
नार्पाभूमिको मतपेटिका हेलिकप्टरमार्फत ल्याइने

मनाङ- हिमाली जिल्ला मनाङको सबैभन्दा उचाइ र विकट क्षेत्रको मतपेटिका आज हेलिकप्टरमार्फत ल्याइने भएको छ । यहाँको मौसम अनुकूल भएपछि हेलिकप्टरमार्फत मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने भएको हो।

हालसम्म सडक पहुँचमा नपुगेको नार्पाभूमि गाउँपालिकाका सबै मतदान केन्द्रबाट मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए। ‘चार हजार दुई सय मिटर उचाइमा रहेको मतदान केन्द्रबाट मतपेटिका ल्याउँदा हिउँमा समस्या हुनसक्छ भनेर हेलिकप्टरको व्यवस्थापन गरिएको हो’, उनले भने।

‘जिल्लाका अन्य मतदान केन्द्रबाट आइतबार नै मतपेटिका आइपुगेको छ। नार्पाभूमि विकट र चिसोका कारण मतपेटिका ल्याउन समस्या भएकाले हेलिकप्टरमार्फत ल्याउने व्यवस्था भएको छ’, उनले भने, ‘मतपेटिका आएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारीमा छौँ ।’

जिल्लामा कूल ७१ दशमलव ४६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला कारागार मनाङको अस्थायी मतदान केन्द्रबाट दुई कैदीबन्दीसहित राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मी गरी ९८ जनाले मतदान गरेका थिए । राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीका पाँच महिलाले अस्थायी मतदान केन्द्रमार्फत मतदान गरेका हुन् ।

मतगणनाका लागि सम्पूर्ण तयारी पूरा भएको शर्माले बताए। प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक, प्रदेशसभा प्रत्यक्ष र समानुपातिक मतगणनाका लागि स्थल तयार भएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । प्रदेश ‘१’मा दुई हजार छ सय २४ र प्रदेश ‘२’मा चार हजार एक सय ५५ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित: ५ मंसिर २०७९ ९:१९ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast