
पोखरा- पोखराको छोरेपाटन माविका पूर्व प्रअ तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीमाथि कालोमोसो दलेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेकपा (बहुमत) का नेता सुजन बिक हुन् ।
कास्की प्रहरीका अनुसार कालोमोसो दल्ने मुख्य योजनाकार उनै बिक हुन् । साथै अन्य २ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। नेकपा (बहुमत) का पोलिट्ब्यूरो सदस्य तथा युवा संगठनका फ्याक्सन इन्चार्ज समेत रहेका बिकलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत राखिएको छ।
शुक्रबार बिहान करिब ८ बजेको समयमा पोखरा–१७, डेभिजफलको ओरालोमा पहारीमाथि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), गण्डकी प्रदेश समितिको नाउँबाट आएको युवाहरुको एक समूहले कालोमोसो दलेर भागेको थियो ।
पोखरा–२१, पहारीडाँडा घर भई हाल पोखरा–१७ निवासी पहारी विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पोखरा–१७ वडा शिक्षा समितिका सदस्य पनि हुन्।
कालोमोसो दल्ने समूहले ‘विद्यालय आउनुहोस्, काम छ’ भनी बोलाएका थिए । उनीहरुले बोलाएपछि त्यसतर्फ जाँदै गर्दा लुकिछिपी बसेको उक्त समूहले एक्कासि कालोमोसो दलेको हो ।
उक्त कार्यको भने चौतर्फी विरोध भएको छ । एकजना शिक्षासेवीमाथि कसैको उक्साहटमा एक्कासि कालोमोसो दल्नेलाई कडा कारबाहीको माग गरेका छन्।
यसैबीच, नेकपा एमाले, पोखरा २१ का तर्फबाट अध्यक्ष राजेन्द्र थापाले सो घटनाको घोर भत्र्सना गर्दै घटनामा संलग्नलाई यथाशीघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
हाल छोरेपाटन स्कुलमा २२ सय जना विद्यार्थी पढ्छन् । विद्यालयले ४६ वर्षदेखि नजिकैको पर्यटकीयस्थल पाताले छाँगोबाट हुने आम्दानी खर्चिदै आएको छ । तर पछिल्लो समय पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार पाताले छाँगोमा सिसाको पुल हाल्ने भनी ४० वर्षका लागि निजी कम्पनी क्यान्योन प्रालिलाई ठेक्का दिने गरी सहमति गरेको थियो । सोको विरोध भई केही समयसम्म पातालो छाँगोमा तालासमेत लगाइएको थियो ।
हाल उक्त पाताले छाँगो प्रवेश गर्दा स्वदेश तथा विदेशी पर्यटकको प्रवेश शुल्क पोखरा महानगर आफैँले लिँदै आएको छ। त्यहाँबाट हुने आम्दानीको वार्षिक ३ करोड विद्यालयलाई दिने सहमति भएको थियो। तर २ किस्ता रोकिँदा विद्यालय व्यवस्थापन समिति जवाफदेही नभएको र विद्यार्थीको भविष्य अन्धकारमय हुने देखिएकोले ठेक्का सम्झौता तत्काल रद्ध गर्न माग गरिएको छ।