जनमत पार्टीले केन्द्रीय सदस्य र कार्यकारिणी सदस्यलाई सोध्यो स्पष्टीकरण

हिमाल प्रेस २७ असार २०८२ ११:५३ | Friday, July 11, 2025
जनमत पार्टीले केन्द्रीय सदस्य र कार्यकारिणी सदस्यलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ- जनमत पार्टीले पार्टीका दुई नेतासँग स्पष्टीकरण सोधेको छ। पार्टी अनुशासन विपरीत काम गरेको भन्दै जनमतको केन्द्रीय अनुशासन समितिले उनीहरूसँग स्पष्टीकरण सोधेको हो।

केन्द्रीय अनुशासन समितिका संयोजक ईन्जिनियर नरेन्द्रप्रसाद चौधरीले केन्द्रीय कार्यकारिणी सदस्य धनुषाका शम्भुनाथ साह र केन्द्रीय सदस्य रौतहटका वीरेन्द्र साह सोनारसँग स्पष्टीकरण सोधेका छन्।

दुवै जनाले सामाजिक सञ्जालमा पार्टी निर्णयको विरोध गरेको र पार्टीको नीति निर्देशन तथा विधान विपरीत अनुशासनहिनता प्रदर्शन गरेको पाइएकोले स्पष्टीकरण सोधिएको जनमत पार्टीले जनाएको छ।

‘तपाईँ विगत केही दिनदेखि सामाजिक सञ्जालहरूमा पार्टी निर्णयको विरोध गर्नु भएको र जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधान विपरीत ढंगले अनुशासनहिनता प्रदर्शन गरी राख्नुभएको, पार्टीको निर्देशन तथा पार्टीको अहित हुने कार्यमा संलग्न भएको हुँदा जनमत पार्टीको विधानको धारा ३९ (क) को उपधारा २, ३, ४, ५, १० र १५ आकर्षित हुने हुँदा तपाईँलाई किन कारबाही नहुनुपर्ने हो भनी सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन अनुरोध छ,’ संयोजक चौधरीले सोनार र साहलाई छुट्टाछुट्टै सोधेको स्पष्टीकरण पत्रमा भनिएको छ।

स्पष्टीकरण सोधिएका कार्यकारिणी सदस्य साहले तोकिएको समयभित्र उपयुक्त जवाफ दिने बताएका छन्। पार्टीभित्रको गलत क्रियाकलापको विरोध गर्दा आफूसँग स्पष्टीकरण सोधिएको उनले जिकिर गरे। ‘गलत निर्णय र क्रियाकलापको विरोध गर्दा स्पष्टीकरण सोधिएको छ, यसले कुनै फरक पर्दैन,’ उनले भने,‘तोकिएको समयभित्र उपयुक्त जवाफ दिन्छु।’

जनमत पार्टी परिवारवाद उन्मुख भएको भन्दै सामाजिक सञ्जालमा आएका केही सामग्रीलाई सेयर गरेपछि उनीसँग स्पष्टीकरण सोधिएको बताइएको छ। अध्यक्ष सिके राउतले दाई जयकान्त राउतलाई उपाध्यक्ष मनोनीत गरेपछि पार्टीकै कतिपय नेताकार्यकर्ताले विरोध जनाएका थिए।

प्रकाशित: २७ असार २०८२ ११:५३ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast