पार्टी उम्मेदवार हराउने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही, को–को परे?

हिमाल प्रेस २५ असार २०८२ १८:४५
122
SHARES
पार्टी उम्मेदवार हराउने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही, को–को परे? कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई कारबाही गरेको छ। २०७९ सालको विभिन्न तहका निर्वाचनमा पार्टीका उम्मेदवार हराउन गतिविधि गरेको आरोपमा कांग्रेसको केन्द्रीय अनुशासन विभागले उनीहरूलाई कारबाही गरेको हो।

स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएपछि उनीहरूमाथि कारबाही गरिएको अनुशासन विभागका संयोजक आनन्दप्रसाद ढुंगानाले जनाएका छन्। कारबाहीमा पर्नेमा प्रदेशका पूर्वमन्त्रीदेखि प्रदेशका महामन्त्री, जिल्ला सभापतिदेखि महासमिति सदस्यसम्म छन्।

गण्डी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङका जिल्ला सभापति विष्णुकमार राई, पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई कारबाही गरिएको विभागले जनाएको छ।

उनीहरूमाथि २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको उजुरी परेको थियो। स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएपछि उनीहरूलाई एक वर्षका लागि पार्टी सदस्यताबाट निस्कासन गरिएको विभागका संयोजक ढुंगानाले जानकारी दिएका छन्।

त्यस्तै धनुषाको लक्ष्मीनीयाँ गाउँपालिकाका पार्टी सभापति आनन्द यादवलाई ६ महिनाका लागि निस्कासन गरिएको उनले बताएका छन्।

अनुशासन विभागले धनुषाको सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका वडा नम्बर १ का रामबाबु यादव र मुखियापट्टी मुसहरनिया गाउँपालिकाका सभापति फुलगेन यादवलाई पनि कारबाही गरेको छ।

पछिल्लो निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएपछि उनीहरूलाई ६ महिनाका लागि निलम्बन गरिएको विभागले जनाएको छ।

त्यस्तै कास्की क्षेत्र नम्बर २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, धनगढी उपमहानगरपालिका वडा नम्बर २ का महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह, निवर्तमान सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहानगरपालिका वडा नम्बर १ का पूर्वमहासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका वडा नम्बर १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई पनि विभागले कारबाही गरेको छ। यिनीहरूलाई पनि ६ महिनाका लागि निलम्बन गरिएको विभागले जनाएको छ।
त्यस्तै कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीलाई ३ महिनाका लागि निलम्बन गर्ने निर्णय विभागले गरेको छ।

प्रकाशित: २५ असार २०८२ १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast