बाढीले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण प्रक्रिया अघि बढाउन मन्त्री दाहालको निर्देशन

हिमाल प्रेस २४ असार २०८२ १८:०१ | Tuesday, July 8, 2025
बाढीले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण प्रक्रिया अघि बढाउन मन्त्री दाहालको निर्देशन

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीले क्षति पुर्‍याएका सडक, पुललगायत संरचनाको पुनर्निर्माण प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका छन्।

आज काठमाडौँमा सडक विभागका अधिकारीहरूलाई सम्बोधन गर्दै मन्त्री दाहालले प्रभावित क्षेत्रमा तत्काल अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना बनाउन निर्देशन दिए।

भोटेकोशी नदीले पुर्‍याएको क्षतिको यथाशीघ्र अध्ययन गरी यातायात सहज बनाउन आवश्यक कदम चाल्न पनि उनले आग्रह गरे। ‘अझै मनसुन सक्रिय भएकाले संरचनाको सुरक्षा र क्षतिग्रस्त संरचनाको अस्थायी तथा स्थायी पुनर्निर्माणको योजना बनाउनुहोस्,’ मन्त्री दाहालले भने, ‘नेपाल-चीन जोड्ने सडक र मितेरी पुलमा भएको क्षतिको विस्तृत अध्ययन गरी जनजीवन तथा यातायात सहज बनाउन जनशक्ति र स्रोत-साधन परिचालन गर्नुहोस्।’

मन्त्री दाहालले बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपबाट थप क्षति हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै वर्षायामभर सुरक्षित सडक सञ्चालनको व्यवस्था गर्न सम्बद्ध निकायसँग समन्वय गर्न आग्रह गरे। उनले अन्य सडकहरूमा पनि ध्यान दिई यातायात अवरुद्ध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिए।

सडक विभागका महानिर्देशक डा.विजयकुमार जैसीका अनुसार रसुवागढी क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको अध्ययन तथा पुनर्निर्माणका लागि विभागको टोली परिचालित भइसकेको छ। यस्तै, गल्छी-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक आयोजनामार्फत प्रभावित क्षेत्रमा प्राविधिक जनशक्ति परिचालन गरिएको छ।

‘बाढी र वर्षाको अवस्था हेरेर विभागले आवश्यक काम सुरु गरिसकेको छ,’ जैसीले भने,‘अल्पकालीन तथा दीर्घकालीन रूपमा गर्नुपर्ने कार्यका लागि योजना बनाउने र अन्य निकायहरूसँग समन्वय गर्ने काम पनि भइरहेको छ।’

प्रकाशित: २४ असार २०८२ १८:०१ | Tuesday, July 8, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast