काठमाडौँ- सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको पचास करोड रुपैयाँ बराबरको पहिलो खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको छ।
यो योजना असार १३ गतेदेखि असार २७ गतेसम्म बैंकिङ समयभित्र इकाई बिक्रीका लागि खुला गरिएको कम्पनी सचिव रमेश लुईटेलले जानकारी दिएका छन्।
योजनाको प्राथमिक निष्कासनअन्तर्गत इच्छुक इकाईधनीहरूले असार २७ गते शुक्रबार साँझ ५ बजेभित्र आवेदन दिनसक्ने उनले बताए। आवेदन मेरो सेयर खातामार्फत वा सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाबाट दिनसक्ने व्यवस्था मिलाइएको छ।
यस योजनामा सहभागी हुनका लागि न्यूनतम १०० इकाई र अधिकतम पाँच लाख इकाई अर्थात न्यूनतम एक हजार रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँसम्मको आवेदन दिन सकिने कम्पनीले जनाएको छ। योजनाको वित्तीय प्रक्षेपणअनुसार यसले औसत वार्षिक १५.१० प्रतिफल दिने अनुमान गरिएको छ।
सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्यचुअल फन्डमार्फत नयाँ आयाम थप्दै ग्राहकलाई सम्पूर्ण वित्तीय सेवा प्रदान गरिरहेको छ।
सिटिजन्स बैंकको सहायक कम्पनीको रुपमा सञ्चालित सिटिजन्स क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले प्रत्यक्ष लगानी सेवाका लागि अनुमति दिएको हो।



