
काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष नविनसिंह धामीले वर्तमान शिक्षा प्रणाली र राहत शिक्षकहरूप्रतिको राज्यको व्यवहारप्रति असन्तोष व्यक्त गरेका छन्। उनले राज्यका अदूरदर्शी नीतिका कारण वर्षौं शिक्षण सेवामा समर्पित राहत शिक्षकहरू अन्यायमा परेको भन्दै विद्रोहको घोषणा गरेका छन्।
‘हामी दोषी होइनौं, पीडित हौं,’ अध्यक्ष धामीले भने, ‘२० वर्षसम्म निरन्तर राहत/अस्थायी शिक्षक बनाएर काम लगाउने अनि अहिले चौतर्फी अफवाह फैलाएर हामीलाई दोषी देखाउने काम गरिँदैछ। यदि हामीलाई सिध्याउने नै हो भने गोली ठोक या घाँटी रेट तर गाँस खोस्ने, अपमान गर्ने होइन!’
उनको भनाइमा राज्यले राहत शिक्षकहरूको सेवासम्बन्धी स्पष्ट नीति नल्याएको, आयोगका परीक्षा लम्ब्याएर योग्य उमेदवारलाई प्रक्रियाबाटै बाहिर राखेको र अहिले आएर अपमानजनक व्यवहार गरेको छ।
‘हामीले पढाएका विद्यार्थी आज शिक्षक भएका छन्। तर आज तिनैलाई हाम्रोविरुद्ध प्रयोग गरेर हामीलाई अयोग्य ठहर गरिँदैछ,’ उनले थपे, ‘कोटामा नियुक्त गरेर काम लगाउने राज्य, अहिले आएर त्यो जिम्मेवारीबाट पन्छिन खोज्नु अन्यायको चरम हो।’
धामीले वर्तमान शिक्षा नीतिलाई ‘गरिब जनतामारा अराजनीति’को संज्ञा दिँदै सम्पूर्ण राहत शिक्षकहरूलाई ‘देशव्यापी बहिष्कार र विद्रोहको महासंग्राम’ का लागि तयार रहन आह्वान गरे। उनले भने, ‘अब आन्दोलन बाहेकको बाटो छैन।’