
इटहरी– धरानमा यौन दुर्व्यवहार, चोरी र ज्यान मार्ने प्रयाससम्बन्धी तीन फरक घटनामा संलग्न पाँच जना व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
इलाका प्रहरी कार्यालय धरानले शुक्रबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका अभियुक्तहरूको विवरण सार्वजनिक गरेको हो।
धरान–१७ निवासी ४९ वर्षीय खजिन्द्र राईलाई १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरिएको हो। वैशाख १७ गते धरान–१६ स्थित बहुभाषिक पाठशालामा मेयर हर्क साम्पाङको नेतृत्वमा भइरहेको श्रमदान कार्यक्रममा राईले बालिकामाथि अनुचित व्यवहार गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैगरी धरान–१५ की पवित्रा मगरको घरबाट ४ लाख ५० हजार नगद, दुई तोला सुन र १७ तोला चाँदी चोरी गरेको अभियोगमा काभ्रेपलाञ्चोकका सोनाम लामालाई पक्राउ गरिएको हो।
लामाले धरानका दुईवटा घरमा चोरी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। उनलाई असार १४ गते काठमाडौँ दरबारमार्ग क्षेत्रबाट पक्राउ गरिएको हो।
यस्तै, धरान–१० स्थित सैनिक चोकमा असार १२ गते समीर राईमाथि खुकुरी र फलामको रड प्रहार गरी गम्भीर घाइते बनाउने घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
मोटरसाइकलमा आएका व्यक्तिहरूले हेलमेट, खुकुरी र रड प्रयोग गरी आक्रमण गरेका थिए।
घटनामा प्रयोग भएको मोटरसाइकल चालक साइमन चौधरीलाई असार १७ गते विराटनगरबाट पक्राउ गरिएको थियो। उनको बयानको आधारमा पासाङ शेर्पालाई असार १८ गते र प्रशान्त प्रधानलाई असार १९ गते धरानबाट पक्राउ गरिएको हो। घटनामा संलग्न अजय खड्का भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुले शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको प्रश्न उठेपनि प्रहरीले निरन्तर निगरानी गरिरहेको बताए। उनका अनुसार चालु आर्थिक वर्षमा धरानमा ११ वटा ज्यान मार्ने सम्बन्धी आपराधिक घटना मात्रै भएको छ। अघिल्लो वर्ष भने ३१ वटा घटना भएको थियो।
घटनामा प्रयोग भएका मोटरसाइकल, खुकुरी र फलामको रड प्रहरीले बरामद गरेको छ। पाँचै जना अभियुक्तमाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जवेगुले बताए।
‘धरानको शान्ति सुरक्षाको अवस्था दयनीय छ कि भनेर प्रश्न उठे पनि हामी निरन्तर शान्ति, सुरक्षामै खटिइरहेका छौँ,’ डीएसपी जवेगुले भने, ‘हरदम आपराधिक घटना हुन नदिनका लागि प्रहरी खटिएको छ।’