
काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन्। आफ्नो निर्देशन अवज्ञा गरेको भन्दै मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री शाहका प्रेस सल्लाहकार डम्बर बमका अनुसार मुख्यमन्त्रीले मन्त्री चौधरीलाई असार ३ गते राजीनामा गर्न निर्देशन दिएका थिए। तर, राजीनामा नदिने अडान लिएपछि मुख्यमन्त्री शाहले उनलाई बर्खास्त गरेका हुन्।
‘मुख्यमन्त्रीज्यूले उहाँले राजीनामा दिएर सहयोग गर्नुस् भनेर भन्नु भएको थियो,’ प्रेस सल्लाहकार बमले हिमालप्रेससँग भने,‘राजीनामा नदिई उहाँले सार्वजनिक रूपमै सक्ने भए बर्खास्त गर्न चुनौती दिनुभएको थियो।’
उनका अनुसार यो विषयमा मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँग छलफल गरेका थिए। नाउपाका सांसद चौधरी जेठ ४ गते मन्त्री नियुक्त भएका थिए। सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नाउपाको संयुक्त सरकार रहेको छ। चौधरीको बर्खास्तीपछि मुख्यमन्त्री शाह आफैँले मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
बजेट निर्माणका क्रममा मन्त्री चौधरीले वित्तीय अनुशासन नमानेको, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गर्दा सल्लाह नगरेकोलगायतका कार्यप्रति मुख्यमन्त्री शाह असन्तुष्ट बनेका थिए।
नाउपाबाटै मन्त्री बनेका लक्ष्मणकिशोर चौधरीको विवादस्पद अडियो सार्वजनिक भएपछि उनको ठाउँमा चौधरीलाई सरकरामा पठाइएको थियो।
विवादस्पद अडियो सार्वजनिक भएपछि नाउपाबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारीमा रहेका लक्ष्मणकिशोरले गत चैतमा पदबाट राजीनामा दिएका थिए।
उनको ठाउँमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गर्न निर्देशन दिएकी थिइन्। संसदीय दलको बैठकले भने अध्यक्षको निर्देशनविपरित संसदीय दलका नेता घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको थियो।
उनी मन्त्री बन्न इच्छुक नभएपछि संसदीय दलको अर्को बैठकले रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको थियो।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नाउपाका सात जना सदस्य छन्। नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका पनि ११, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपाका र स्वतन्त्र १–१ सदस्य छन्।