किन रोकियो धुलिखेल-साँगा सडकखण्डमा काम?

हिमाल प्रेस १९ असार २०८२ १३:५२
14
SHARES
किन रोकियो धुलिखेल-साँगा सडकखण्डमा काम?

काभ्रेपलाञ्चोक- स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा-धुलिखेल सडकखण्डको काम वर्षाका कारण रोकिएको छ। मनसुन बाहिरिएपछि पुनः काम सुचारु हुने आयोजनाले जनाएको छ।

उक्त सडकखण्डको पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधका कारण चार महिनादेखि काम ठप्प अवस्थामा छ। उक्त क्षेत्रको करिब २ सय मिटर क्षेत्रमा विस्तारकार्य रोकिएको सडक विभागको सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले जनाएको छ।

कार्यालयका अनुसार धुलिखेलमा एक किलोमिटर मुख्य सडक पक्की गरिएपनि मनसुनका कारण थप पक्की गर्न सकिएको छैन। सबै सामग्री तयारी अवस्थामा रहेपनि वर्षाका कारण धुलिखेलबाट बनेपातर्फको सडक तथा बनेपास्थित जनागाल क्षेत्रमा एक किमी सडक पक्की नगरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए।

खनालका अनुसार सडक विस्तारसँगै बनेपा क्षेत्रमा करिब ५० वटा विजुलीका पोल हटाउनुपर्ने तथा २८ किलोमा एक घर हटाउने कामसमेत रोकिएको हो। बनेपा सहरको पूर्वीतर्फ चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको डल निर्माणकार्य भइरहेपनि बर्षाका कारण काम नै ठप्प अवस्थामा रहेको छ।

पुलबजार क्षेत्रमा भने ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अबरोध जनाएपछि चार महिनादेखि बिस्तारकार्यनै रोकिएको थियो। सेन्टर लाइनबाट दायाँबायाँ ७५/७५ फिट (एक सय ५० फिट) मध्ये पनि एक सय ४० फिटमा काम भइरहेकोमा स्थानीयले दुवै तर्फका घरमा बराबर छुट्याउनुपर्ने विषयमा विवाद निकालेर निर्माणकार्य अवरुद्ध पारेका हुन्।

सडकको डिजाइन अनुसारनै सडकको बीचबाट बराबर छुट्याउने भएकाले स्थानीयले घरको दुरीमा बराबर गर्नुपर्छ भन्दै विवाद सिर्जना गरेपछि निर्माणकार्य रोकिएको खनालले बताए। उनका अनुसार पटकपटक गरिएको सरोकारवालासहित बनेपा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबीचको छलफलले कुनै निष्कर्ष निकाल्न सकेको छैन।

स्थानीयको अवरोधसँगै मापदण्डभित्रका घर-टहरा हटाउनुपर्ने, बिजुलीको पोल विस्तार, अप्टिकल फाइबर, हाइटेन्सनका पोल हटाउनुपर्ने काम रोकिएको जनाइएको छ। पुलबजार क्षेत्रमा अवरोधका कारण बनेपाको मुख्य सहर क्षेत्रमासमेत निर्माण कार्य रोकिँदै आएको थियो।

प्रकाशित: १९ असार २०८२ १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast