
काठमाडौँ- देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, कैलाली र कञ्चनपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना उच्च छ । यी जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ।
संखुवासभा, रसुवा, कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, दार्चुला, डोटी, डडेलधुरा र बैतडी भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ। यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना ‘मध्यम’ औँल्याइएको छ।
ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र जाजरकोट भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ। यी जिल्लामा आकस्मिक बाढीको सामान्य जोखिमको पूर्वानुमान छ।
कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ।
कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै तर बढ्दो रहने महाशाखाको पूर्वानुमान छ । कर्णाली, पश्चिम सेती र महाकाली नदी जलाधारका जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।