सुकेटार विमानस्थलमा दुई सातादेखि हवाई सेवा ठप्प

हिमाल प्रेस १४ असार २०८२ ८:४८ | Saturday, June 28, 2025
सुकेटार विमानस्थलमा दुई सातादेखि हवाई सेवा ठप्प

काठमाडौँ- ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको छ। ४ महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन।

निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार बर्खायाम सुरु भएसँगै कुहिरो र कम भिजिबिलिटीका कारण असारयता चार उडान प्रभावित भएका छन्। प्रत्येक सोमबार र शुक्रबार नियमित हुने काठमाडौँ-ताप्लेजुङ उडान निरन्तर रद्द हुन थालेपछि यात्रुहरू मर्कामा परेका छन्।

‘मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था छैन। भिजिबिलिटी न्यून भएकाले सुरक्षाको दृष्टिकोणले उडान रोकिनुपरेको हो,’ कार्कीले भने।

शुक्रबार ताप्लेजुङ-काठमाडौं र काठमाडौं-ताप्लेजुङ उडानमा तीन-तीनजना यात्रुले टिकट लिएका थिए। तर मौसम सुध्रिन नसक्दा उडान रद्द भयो। नियमित उडान नहुँदा जिल्ला आवतजावत गर्ने यात्रुको संख्या घट्दै गएको छ।

टिकट लिएर पनि गन्तव्यमा पुग्न सकिने विश्वास नभएपछि यात्रुहरू सवारीसाधनको भरमा लामो दूरीको यात्रा गर्न बाध्य भएका छन्। वर्षायाममा बारम्बार उडान अवरुद्ध हुने समस्या दोहोरिएपछि यात्रुहरू वैकल्पिक र भरपर्दो यातायातको माग गर्दै आएका छन्।

ताप्लेजुङको दुर्गम भूगोलमा हवाई सेवा जीवनरेखाजस्तै रहेकाले यस्ता समस्या समाधानका लागि दीर्घकालीन रणनीति आवश्यक देखिएको छ।

प्रकाशित: १४ असार २०८२ ८:४८ | Saturday, June 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast