पालिकाले तलब घटाएपछि कालीगण्डकीका बाल शिक्षकले बुझाए ज्ञापनपत्र

हिमाल प्रेस १३ असार २०८२ ११:१४ | Friday, June 27, 2025
पालिकाले तलब घटाएपछि कालीगण्डकीका बाल शिक्षकले बुझाए ज्ञापनपत्र

स्याङ्जा- कालीगण्डकी गाउँपालिकाका बाल विकास (ईसीडी) शिक्षकहरूले तलब वृद्धिको माग गर्दै गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

गाउँपालिकाले हाल ईसीडी शिक्षकहरूलाई मासिक पाँच हजार रुपैयाँ तलब दिँदै आएको छ। यसअघि पालिकाले सात हजार रुपैयाँ दिने गरेको थियो। पालिकाले सात हजारबाट घटाएर पाँच हजारमा सिमित गरेपछि ईसीडी शिक्षकहरूले पालिका उपाध्यक्ष सावित्रा कोइराला, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायसहितलाई ध्यनाकर्षण गराएका हुन्।

केही पालिकाहरूले आफ्नै स्रोतबाट थप ७ हजारसम्म दिँदै आएका छन् भने कालीगण्डकी गाउँपालिकाले त्यसको तुलनामा पाँच हजार रुपैयाँ मात्र दिँदै आएको शिक्षकहरूको गुनासो छ।

पालिका बाल विकास शिक्षक समिति उपाध्यक्ष कमला पाण्डेले भनिन्,’हामीले गाउँपालिकासँग तलब ७ हजार कायम गर्न अनुरोध गरेका हौं। न्यून तलबले हाम्रो मनोबल कमजोर भइरहेको छ। हाम्रो मनोबल उच्च बनाउन सहयोग गर्नुस्।’

कालीगण्डकी गाउँपालिकामा हाल ३७ जना बाल विकास शिक्षक कार्यरत छन्। हालै १० जना शिक्षकहरू पालिका कार्यालय पुगेर गाउँपालिका अध्यक्षको ध्यानाकर्षण गराएका थिए।

उपाध्यक्ष कोइराला र प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले शिक्षकहरूको मागप्रति आफूहरूको ध्यानाकर्षण भएको बताएका छन्। उनीहरूका अनुसार अध्यक्ष खिमबहादुर थापासँग छलफल गरेर आवश्यक निर्णय लिइनेछ।

संघीय सरकारले साउन महिनादेखि तलब वृद्धिको तयारी गरिरहेको सन्दर्भमा शिक्षकहरूले पनि स्थानीय सरकारले समेत सोहीअनुसार कदम चाल्नुपर्ने माग गरेका छन्।

संघीय सरकारले प्रतिशिक्षक मासिक १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: १३ असार २०८२ ११:१४ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast