शिक्षकको अनियमित सरुवा र प्रअको हेरफेरप्रति शिक्षामन्त्रीलाई ध्यानाकर्षण

हिमाल प्रेस १३ असार २०८२ ६:१७ | Friday, June 27, 2025
शिक्षकको अनियमित सरुवा र प्रअको हेरफेरप्रति शिक्षामन्त्रीलाई ध्यानाकर्षण शिक्षामन्त्री रघुजी पन्त

काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठनले आन्दोलनमा सहभागी शिक्षकहरूका विरुद्ध गरिएको अनियमित सरुवा तथा प्रधानाध्यापकहरूको हेरफेरप्रति आपत्ति जनाउँदै शिक्षामन्त्री रघुजी पन्तलाई पुनः गम्भीर ध्यानाकर्षण गराएको छ।

संगठनका अध्यक्ष हंस शाहीले शिक्षामन्त्रीलाई लक्षित गर्दै बिहीबार ‘यो सानो उदाहरण हो भनेका थियौं, शिक्षा मन्त्रीज्यूलाई!’ भनेका छन्। संगठनले शिक्षकमाथिको भेदभावपूर्ण र पूर्वाग्रही व्यवहारले शिक्षण वातावरणमा नकारात्मक असर पारिरहेको जनाएको छ।

संगठनले सार्वजनिक गरेको विज्ञप्तिमा नेपाल शिक्षक महासंघको आन्दोलनमा सहभागिता जनाएका शिक्षकहरूमाथि लक्षित गर्दै गरिएको सरुवालाई पूर्वाग्रही र ट्रेड युनियन अधिकारमाथिको हस्तक्षेपको रूपमा व्याख्या गरिएको छ।

संगठनका अनुसार सरुवा भएका शिक्षकहरूको विवरणअनुसार उदयपुरको त्रियुगा नगरपालिकाबाट ८१ जना शिक्षक सरुवा गरिएको छ। हाल अदालतबाट स्थगन आदेश (स्टे अर्डर) जारी भएको छ।

यसैगरी, सप्तरीको सुरुङ्गा नगरपालिकाबाट १४ जना, सर्लाहीको मलङ्गवा नगरपालिकाबाट ४५ जना (स्टे अर्डरसहित), धादिङको बेनीघाट रोराङ गाउँपालिकाबाट ५५ जना, गजुरी गाउँपालिकाबाट २४ जना र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाबाट उल्लेख्य सङ्ख्यामा शिक्षकहरू सरुवा गरिएको छ।

सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिकाबाट पनि आन्दोलनमा संलग्न २० जना शिक्षकहरूको सरुवा गरिएको छ भने केही प्रधानाध्यापकलाई पद घटुवा गर्दै अन्यत्र पठाइएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा संगठनले यस्ता कार्यहरूलाई अराजक, असंवैधानिक र शिक्षा क्षेत्रविरुद्धको षड्यन्त्रको रूपमा व्याख्या गर्दै ती निर्णयहरू तत्काल खारेज गरिनुपर्ने माग राखेको छ।

यस्ता कार्यले शिक्षकहरूको मनोबल कमजोर पारी शिक्षण सिकाइमा नकारात्मक प्रभाव पार्ने भन्दै संगठनले सबै स्थानीय तहहरूलाई शिक्षकप्रति सम्मानजनक व्यवहार गर्न अनुरोध गरेको छ। साथै, शिक्षा क्षेत्रको स्थायित्व, गुणस्तर र मर्यादा कायम राख्न नेपाल राष्ट्रिय शिक्षक संगठनसँग सहकार्य गर्न पनि आह्वान गरिएको छ।

संगठनले यो विज्ञप्तिमार्फत नेपाल शिक्षक महासंघ, स्थानीय, प्रदेश तथा संघ सरकारसहित सबै सरोकारवाला निकायहरूलाई शिक्षक आन्दोलनको भावनाविपरीत कुनै पनि गतिविधि नगर्न र नगराउन स्पष्ट चेतावनी दिएको छ।

संगठनले शिक्षकको हक, हित र अधिकार रक्षा गर्न सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

प्रकाशित: १३ असार २०८२ ६:१७ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast