शिक्षा समिति बैठक, विवादित विषयमा सहमति खोजिँदै LIVE

हिमाल प्रेस १२ असार २०८२ १६:०७
852
SHARES

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ। बैठकमा विद्यालय शिक्षा विधेयक-२०८० का विवादित विषयमा अन्तिम चरणको छलफल भइरहेको छ। समितिले विधेयकलाई असार १५ गतेसम्म पारित गरी प्रतिनिधिसभामा पठाउने तयारी गरिरहेको छ।

बैठक सुरु हुनु अघि बिहानैदेखि परामर्श तथा समन्वय उपसमितिको बैठक बसेको थियो। समितिका सभापति अम्मरबहादुर थापाका अनुसार बाँकी रहेका विषयहरूबारे आज र भोलि छलफल गरी निष्कर्ष निकाल्ने प्रयास भइरहेको छ। मुख्यतः निजी विद्यालयको सञ्चालन, प्रारम्भिक बाल विकास (ईसीडी) र शिक्षकको व्यवस्थापन जस्ता विषयमा अझै सहमति जुट्न बाँकी रहेको छ।

यसैबीच, विद्यालय शिक्षा विधेयकमा शिक्षकका माग समेट्न पहल गर्न नेपाल शिक्षक महासंघले पनि आफ्नो सक्रियता बढाएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र एमालेकी सांसद लीला बोखिमसँग भेटघाट गरी विधेयकमा समावेश हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन्।

अध्यक्ष सुवेदीले भने, ‘कतिपय प्रावधानमा हाम्रो गम्भीर चासो छ। हामीले प्रमुख सांसदहरूसँग स्पष्ट धारणा राखेका छौँ।’ महासंघले विशेषतः शिक्षकको स्थायित्व, पेसागत सुरक्षा, पारिश्रमिक र ईसीडी शिक्षकको हैसियत जस्ता मुद्दामा जोड दिँदै आएको छ।

विधेयक पारित हुने प्रक्रियाअनुसार समितिबाट स्वीकृति पाएपछि प्रतिनिधिसभा, त्यसपछि राष्ट्रियसभा हुँदै राष्ट्रपतिको प्रमाणीकरणपछि ऐन बन्नेछ।

गत वैशाख १७ गते सरकारले शिक्षक महासंघसँग १५ असारभित्र विधेयक पारित गर्ने सहमति गरेको थियो। शिक्षक महासंघले विधेयकमा माग समेटिएन भने आन्दोलन चर्काउने चेतावनी दिँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast