महत्त्वपूर्ण विधेयकहरू संसद् र समितिमा अल्झिनु दुर्भाग्यपूर्ण : प्रचण्ड

हिमाल प्रेस ११ असार २०८२ १३:४२
40
SHARES
महत्त्वपूर्ण विधेयकहरू संसद् र समितिमा अल्झिनु दुर्भाग्यपूर्ण : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय प्रहरीसम्बन्धी विधेयकलगायत अत्यावश्यक विधेयकहरू संसद्‌ र समितिमा अल्झिएकोमा चिन्ता व्यक्त गरेका छन्। उनले संसद्‌मा चढेको विधेयक कार्यसूचीबाट हटाउने प्रवृत्ति बढ्दै गएको भन्दै यसले संघीय प्रणालीमै अविश्वास पैदा गर्ने चेतावनी दिएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै समितिका सदस्यसमेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले संघीय प्रहरी विधेयकबारे गहिरो र दफावार छलफल गर्नुपर्नेमा जोड दिए। तर उनले पछिल्ला दिनमा संसद्‌मा विधेयक अवरोध भइरहेकाले गम्भीर राजनीतिक समझदारी आवश्यक रहेको संकेत गरे।

‘सरकारसँग केही लचिलो भएर महत्वपूर्ण समझदारी कायम गरौं भन्ने सोच मेरो थियो,’ उनले भने, ‘समितिमा वर्षौँदेखि छलफल गरेर अन्ततः संसद्‌मा पठाइएको विधेयक कार्यसूचीमै चढेर पनि फेरि फिर्ता भइरहनु दुखद हो।’

उनले संघीय निजामति सेवा, विद्यालय शिक्षा, नागरिकता संशोधन, संघीय प्रहरीजस्ता विधेयकहरू लामो प्रतीक्षा र श्रमपछि समिति हुँदै संसद्‌मा पुगे पनि ऐन बन्न नसक्नु चिन्ताजनक भएको बताए।

‘यी विधेयकहरू यत्तिकै टारिने हो कि भन्ने शंका बढेको छ,’ उनले भने, ‘मैले पनि यी विधेयक सदनमा पुर्‍याउन मेहनत गरेको छु। अब फेरि पनि ढिलाइ भयो भने गम्भीर राजनीतिक समस्या उत्पन्न हुन सक्छ।’

संसद्‌मा कार्यसूचीमै चढेको संघीय निजामती सेवा विधेयक पछिल्लो समयमा कार्यसूचीबाट हटाइएको घटनालाई उल्लेख गर्दै प्रचण्डले राज्यव्यवस्था समितिमा सहमति भएर संसद्‌मा पेस भएका विधेयक अलमलिनु अति दुर्भाग्यपूर्ण भएको बताए।

प्रहरीसम्बन्धी विधेयकबारे उनले भने,‘यो कानुन संशोधन र एकीकरणका दृष्टिले महत्त्वपूर्ण छ। यसलाई अधिकतम परिमार्जनसहित पारित गर्नुपर्ने आवश्यकता छ। पूर्ववर्ती छलफललाई आधार मान्दै दीर्घकालीन सोचसाथ विधेयक अघि बढाऔं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast