शिक्षा विधेयक : देउवापछि प्रचण्डलाई भेट्यो महासंघले, प्रचण्डले के भने?

हिमाल प्रेस ९ असार २०८२ ११:०१ | Monday, June 23, 2025
शिक्षा विधेयक : देउवापछि प्रचण्डलाई भेट्यो महासंघले, प्रचण्डले के भने?

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विद्यालय शिक्षा विधेयक-२०८० को विषयमा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आइतबार भेटेपछि आज प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेको छ।

८९ दिनको आन्दोलनपछि महासंघसँग सरकारले गत वैशाख १७ गते नौबुँदे सहमति गर्दै असार १५ गते विधेयक प्रतिनिधिसभामा पेस गर्ने लिखित प्रतिबद्धता जनाएको थियो।

महासंघले १५ असारमा शिक्षक कर्मचारीका माग समेटेर विधेयक प्रतिनिधिसभामा पुर्‍याउन सभापति देउवा र अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण गराएको हो।

प्रचण्डसँगको भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखे।

शिक्षकहरूको गुनासो र माग सुनेपछि अध्यक्ष प्रचण्डले शिक्षक पेसा एक सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको पेसा भएको बताउँदै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने बताए। उनले भने, ‘शिक्षकहरूलाई सम्मान गर्नुपर्छ किनकि यो एक सम्मानित पेसा हो, जुन देशको भविष्यसँग समेत गाँसिएको छ। सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ। हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना नबनाउन सकोस् भनेर गरेका हौं।’

अध्यक्ष प्रचण्डले शिक्षकका जायज मागहरू कुनै सर्तबिना तुरुन्त पूरा गर्नुपर्ने बताए। उनले  भने, ‘हामी ती मागहरू पूरा गर्न आफ्नो तर्फबाट पूर्ण रूपमा लाग्नेछौं।’ उनले प्रारम्भिक बालविकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने आवश्यकता पनि औँल्याए।

भेटका क्रममा शिक्षक महासंघका पदाधिकारीहरूले शिक्षा क्षेत्रलाई अनिश्चितताको चपेटाबाट मुक्त गराउन तथा शिक्षकहरूसँग भएका सहमति तुरुन्त कार्यान्वयनमा पहल लिइदिन आग्रह गरे।

प्रचण्डसँगको भेटमा महासंघसँगै आबद्ध सम्बद्ध संघसंगठनका अध्यक्ष तथा महासचिवहरू पनि उपस्थित थिए। जसमा महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, महासचिव ज्ञानेन्द्रबहादुर रावल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंसबहादुर शाही, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी थिए। त्यसैगरी, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल पनि थिए।

अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र सचिव पौडेलसँग शिक्षाका विषयमा २ घण्टा लामो छलफल भएको संगठनका अध्यक्ष अधिकारीले जानकारी दिए। उनले भने, ‘नेपाल शिक्षक महासंघसँग भएको सहमति कार्यान्वयन गर्न, ऐनमा ल्याउन माओवादी केन्द्र र माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने विषयगत समितिका सदस्यहरू तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।’

शिक्षा विधेयक : पास गर्न कांग्रेस तयार, एमालेको अड्चन

प्रकाशित: ९ असार २०८२ ११:०१ | Monday, June 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast