
डोटी– डोटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
शुक्रबार दिउँसो आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल सायल सडकखण्डमा सुपप्र ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परी सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया देवी विक, जिपचालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको छ।
दुई जनाको घटनास्थलमा र कालीको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार मृतक काली गर्भवती रहेको खुलेको छ।
दुर्घटनामा परी आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, सोही पालिकाको वडा नम्बर ७ दडिमानाका २२ वर्षीय कैलाश विष्ट, १४ वर्षीय दीपक विष्ट र मृतक काली कटुवालकी १० वर्षीया छोरी साविता कटुवाल घाइते भएको प्रहरी निरीक्षक जोशीले बताए।
घाइते चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
दिपायलबाट मौवातर्फ गइरहेको जिप सडक घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो।