
धनगढी- कैलाली जिल्ला कारागारमा एक कैदीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
डडेल्धुराको भागेश्वर गाउँपालिका-५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्युपश्चात् परिवारले उठाएको आरोप र किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले सई नाथलाई नियन्त्रणमा लिएको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा कार्यालय प्रवक्ता राजकुमार सिंहले पीडित पक्षले दिएको किटानी जाहेरीअनुसार सई नाथलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जानकारी दिए।
सई नाथ मृतक पालीविरुद्ध दायर गरिएको बैंकिङ कसुरसम्बन्धी मुद्दाका वादी पनि रहेका थिए। सो मुद्दामा जिल्ला अदालतले पालीलाई २०८० साल फागुनमा १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो।
मृतक पालीकी पत्नी जानकी साउदले पति कारागारमा कुटपिटबाट मारिएको भन्दै बुधबार कारागार प्रमुख बसन्तबहादुर खत्रीसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। तर जिल्ला प्रहरी कार्यालयले जाहेरी सच्याएर ल्याउन सुझाव दिएपछि बिहीबार उनले सई नाथविरुद्ध मात्रै जाहेरी दर्ता गराएकी हुन्।
जाहेरीपछि प्रहरीले नाथलाई नियन्त्रणमा लिएसँगै मृतक पालीको परिवार शव बुझ्न तयार भएको छ।